पश्चिम एसियाको संकटले नेपालमा मल आपूर्तिमा अवरोध हुन सक्ने, मन्त्रालयद्वारा सहजीकरणका लागि पत्राचार

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ। पश्चिम एसियामा जारी संकटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुने देखिएकाले सहजीकरणका लागि सम्बन्धित निकायहरूलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहने भए पनि पश्चिम एसियाको संकटका कारण थप मल आपूर्तिमा समस्या हुन सक्ने देखिएको छ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि विभाग, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, सातै प्रदेशका कृषि मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आगामी यामको धानखेतीका लागि मल बिक्री–वितरण प्रभावकारी बनाउन सहजीकरण गरिदिन आग्रह गरेकी छन्।
मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी अवधि र आगामी धानखेतीको मौसमलाई मध्यनजर गर्दै सहजीकरणका लागि पत्राचार गरेको हो। पश्चिम एसियाको संकटका कारण विश्व बजारमा मलको मूल्य र आपूर्तिमा असर पर्ने सम्भावना रहेको र नेपालजस्तो कृषिप्रधान देशका लागि यो गम्भीर विषय भएको मन्त्रालयको बुझाइ छ। आगामी धानखेतीका लागि समयमै मल उपलब्ध हुन नसके उत्पादनमा असर पर्ने भएकाले सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गर्न मन्त्री चौधरीले आग्रह गरेकी हुन्।





