नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलाई स्वागत, सांस्कृतिक कार्यक्रममा विशिष्ट उपस्थिति

काठमाडौँ — नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको स्वागतार्थ बुधबार विशेष कार्यक्रम आयोजना गरिएको छ। चिनियाँ राजदूतावासले आयोजना गरेको ‘वसन्तको स्वर: गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकको सांस्कृतिक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीसहितका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राजदूत झाङ माओमिङले नेपालको राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्नो कार्यकालमा नेपाल–चीन सम्बन्धलाई अझै विस्तार र नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै दुई देशबीचको परम्परागत मित्रता र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध विशेष रहेको बताउँदै जनस्तरमा रहेको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरिन्। उनले नेपालको विकासमा चीनले गरेको सहयोगप्रति आभार व्यक्त गरिन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण रहेको बताए। उनले नेपाली भूमि कुनै पनि छिमेकी देशविरुद्ध प्रयोग हुन नदिने नेपालको स्पष्ट नीति रहेको र विशेष गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याए।
अर्थमन्त्री वाग्लेले सांस्कृतिक आदानप्रदान दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पक्ष रहेको र जनता–जनताबीचको सम्बन्ध अझ बलियो हुँदै गएको उल्लेख गरे। उनले चीनले नेपाललाई ल्यान्डलिंक्ड देश बनाउन निरन्तर सहयोग गरेको भन्दै आभार व्यक्त गर्दै चक्रपथ विस्तार, रेल परियोजना निर्माण, निजामती अस्पताल र मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि चीनले गरेको सहयोगको प्रशंसा गरे। उनले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सफल र सौहार्दपूर्ण रहेको उल्लेख गर्दै आधुनिक विकासका क्षेत्रमा सहकार्य अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ‘वसन्तको स्वर: गीतसँगै भित्री मङ्गोलियाको यात्रा’ शीर्षकमा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। कार्यक्रममा नेपाल र चीनका कूटनीतिज्ञ, राजनीतिक नेतृत्व, सांस्कृतिक क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।





