सरकारी वेभसाइट ह्याक गरी ठेक्का हात पार्ने गिरोह सक्रिय, सिआईबीद्वारा ६ निर्माण व्यवसायी पक्राउ

काठमाडौँ — सरकारी वेभसाइट ह्याक गरेर ठेक्का हात पार्ने गिरोह सक्रिय भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ६ जना निर्माण व्यवसायीलाई अनुसन्धानको क्रममा पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय दिवाकर देउवा, २५ वर्षीय भरत थामी, ३९ वर्षीय सञ्जय भट्ट, ३५ वर्षीय भाष्करराज अर्याल, ४० वर्षीय सागर कटुवाल र ६२ वर्षीय जीवनकुमार दास रहेका छन्।
सिआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले उनीहरूलाई कार्यालयको ‘इ–गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई–जीपी)’ प्रणालीमा अनाधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा समातिएको बताए। उनीहरूमाथि ‘विद्युतीय कारोबार ऐन, २०६३’ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ। हरेक सरकारी कार्यालयले ठेक्काको बोलपत्र आह्वान गर्छ। ठेकेदारहरूले अनलाइन प्रणालीबाट दरखास्त दिनुपर्छ। प्रतिष्ठित व्यवसायीहरूले सो वेभसाइट ह्याक गरेर आर्थिक प्रस्ताव हेरी त्योभन्दा कममा बोलपत्र हाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
वेभसाइट ह्याक गरेर ठेक्का लिने गरेको सूचनापछि कार्यालयको आईटी टिमले छानबिन अगाडि बढायो। अनुसन्धान क्रममा वेभसाइटमा गडबडी देखिएपछि सिआईबीलाई पत्राचार गरिएको प्रवक्ता रामप्रसाद आचार्यले बताए। उनले भने, “हामीलाई सूचना आउनुका साथै आशंका पनि लागिरहेको थियो। त्यसपछि हाम्रो आईटी टिमले अनुसन्धान गर्यो। आइपी एड्रेसमा अनुसन्धान गर्दा सिस्टममा गडबडी देखिएपछि सिआईबीलाई पत्राचार गरिएको हो।”
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एशियाली विकास बैंकको सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाइप बिछ्याउनका लागि करिब १० अर्ब रुपैयाँको ठेक्का आह्वान गरेको थियो। आशिष निर्माण सेवाले सबैभन्दा कम दरमा ठेक्का हाल्यो। सो ठेक्का ह्याकिङमार्फत हात पारेको सूचनापछि कार्यालयले छानबिन गर्यो। सोको क्रममा ह्याक गरेको देखिएपछि सेवाका अध्यक्ष ऋषिकेश गौली र उनका छोरा निर्माणविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सडक डिभिजन, भक्तपुरले खुलाएको बोलपत्रमा रौताडा कन्स्ट्रक्सनले छेडखानी गरेको पाइएको छ। यसमा कार्यालयले कम्पनीलाई सचेत गराएको छ। निर्माण व्यवसायी संघ, मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई नेपाल निर्माण व्यवसायी संघको तेह्रौं महाधिवेशनका क्रममा पक्राउ गरिएको हो। उनी केन्द्रीय सदस्य उठ्ने तयारीमा थिए। उनलाई जिताउन मकवानपुरबाट व्यवसायीहरू काठमाडौं आएकोमा चैत १७ गते राति ह्याक प्रकरणमा समातिएको हो। त्यसपछि निर्माण व्यवसायीहरू निराश हुँदै फर्किएका थिए। अन्य थुप्रै निर्माण व्यवसायीमाथि पनि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ। एसएसपी श्रेष्ठले भने, “अनुसन्धान जारी छ। त्यसैले धेरै जानकारी दिन मिल्दैन।”
हालै नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधारण सभा एवं तेह्रौं महाधिवेशन सम्पन्न भएको छ। कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशनले निकोलस पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वसांसद विक्रम पाण्डेका छोरा हुन्। स्रोतका अनुसार चुनावमा पाण्डे समूहले ठूलो खर्च गरेको थियो। उनीहरूले महँगा होटलमा बैठक राखेर छलफल गरेको स्रोतको जिकिर छ। स्रोतले भन्यो, “ठूलो होटलमा प्रतिनिधि बोलाएर छलफल गरिएको थियो। यहाँ ठूलै रकमको खेलोफड्को भएको छ।”
महासंघ विशुद्ध सामाजिक संस्था हो। त्यहाँ कुनै तलब, सेवासुविधा हुँदैन। तैपनि, ठेकेदारहरूबीच पदाधिकारी बन्न हानाथाप हुने गरेको छ। ह्याक गरेर दिनको दुईगुणा र रातको चौगुणाले आम्दानी गर्ने भएकाले महासंघको पदाधिकारी बन्न कडा प्रतिस्पर्धा हुने स्रोतको जिकिर छ। हाल निर्वाचित अधिकांश युवा छन्। स्रोतले भन्यो, “अहिले जितेकाहरू प्रायः युवा छन्, सबै ह्याक गर्न जान्ने। पहिल्यै ह्याकको आतंक मच्चाउँदै आएकाले अब कति मच्चाउने हुन्? सरकारले यसमा कडाइका साथ अनुसन्धान गर्नुपर्छ।”





