९ बैशाख २०८३, बुधबार

छुलिया बाहुनको कथादेखि दीपक भट्टको रणनीति : ‘सर्पको खुट्टा सर्पले मात्र देख्छ’

काठमाडौँ — सम्पत्ति शुद्धीकरण मुद्दामा हाल थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिएर सामाजिक सञ्जालमा एउटा चर्चित स्टाटसले व्यापक बहस सिर्जना गरेको छ। प्रकाश तिमल्सिना नामक फेसबुक प्रयोगकर्ताले लेखेको उक्त लामो पोस्टमा भट्टको वर्तमान अवस्थालाई एउटा नीति कथासँग जोडेर विश्लेषण गरिएको छ।

‘छुलिया बाहुन’ शीर्षकको उक्त नीति कथामा एक बाहुनले जीवनभर गाउँलेलाई दुःख दिएपछि मर्दा आफ्नो लास बाँसले घोच्दै घाटमा लैजान आग्रह गर्छ। गाउँलेहरू रिस मेट्ने सोचले त्यसो गर्छन् तर प्रहरीले उनीहरूलाई हत्याको आरोपमा पक्राउ गर्छ। कथाको सन्देश थियो – दुःख दिने व्यक्ति मरेपछि पनि उसको रणनीतिले पीडितहरू नै थुनामा पर्छन्।

त्यही कथालाई जोड्दै तिमल्सिनाले लेखेका छन्, ‘यो नीति कथा विवादास्पद व्यापारी दीपक भट्टसँग पनि मेल खान्छ। अहिले बुझ्दा उनी यति दिमाग भएका मान्छे रहेछन् कि जब उनैले हुर्काएका बढाएका “पानी बाड्ने केटो”ले आफूलाई थुनाई दिएपछि आज उनले थुनामा रहँदा “केटो”को जागिर खाई दिएका छन्।’

तिमल्सिनाका अनुसार भट्ट थुनामा रहे पनि उनको दिमाग चलिरहेको छ। ‘सर्पको खुट्टा सर्पले मात्र देख्न सक्छ’ भन्ने उखानलाई उद्धृत गर्दै उनले लेखेका छन्, ‘स्वयं भट्टले थुनामा रहे पनि आफूले देखेको र पालेका सर्पको खुट्टामा हिँड्नेहरूलाई उदाङ्गो पार्न विभिन्न च्यानलबाट मिडिया सामु सबै कागजात छरपस्ट पारिदिएका हुन्।’

‘आखिर उनको नुन नखाएको को रहेनछ र सिंगो राज्यको “पोलिसी लेभल” मा?’ भन्दै तिम्सिनाले प्रश्न गरेका छन्। उनको दाबी छ, ‘थुनामा रहे पनि भट्टले उनले देखेका र पालेका धेरै सर्पहरूको खुट्टा विभिन्न च्यानलमार्फत बाहिर ल्याई दिन्छन्।’

पोस्टको अन्त्यमा तिम्सिनाले स्पष्ट पारेका छन्, ‘मैले दीपक भट्टलाई व्यक्तिगत रूपमा चिनेको छैन। मेरो एक पैसा पनि कतै सेयर छैन। उनको पक्षमा म छैन, उनलाई कानुनअनुसार कारबाही हुनुपर्छ भन्ने मान्यता म अझै पनि अडिग छु।’

उनको यो पोस्टले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। भट्ट थुनामा रहे पनि उनले अन्य व्यक्ति तथा निकायको सम्पत्ति र लेनदेनसम्बन्धी कागजातहरू सार्वजनिक गराइरहेको चर्चा पनि सोही पोस्टलाई आधार मानेर फैलिएको छ।

यद्यपि, भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान अझै जारी छ। पक्राउ परेपछि पनि उनले धेरै राजनीतिक तथा व्यावसायिक व्यक्तित्वहरूको नाम जोडेर चर्चा बटुल्ने रणनीति अपनाएको पर्यवेक्षकहरू बताउँछन्। तर तिम्सिनाको यो पोस्टले भने कानुनी प्रक्रियाभन्दा बाहिर सामाजिक सञ्जालमा एउटा नयाँ बहसको जन्म गराइदिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button