९ बैशाख २०८३, बुधबार

प्रचण्डको व्यंग्य : नेपोबेबी भन्नेहरू को रहेछन् भन्ने जनताले छिट्टै बुझ्नेछन्

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपोबेबी’ भन्नेहरू को रहेछन् भन्ने कुरा जनताले छिट्टै बुझ्ने बताएका छन्। ७७औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गर्दै यस्तो बताएका हुन्।

विशेष गरेर हालका शिक्षामन्त्री सुमना पोखरेललगायत रास्वपाका केही नेताहरूमाथि ‘नेपोबेबी’ भनेर व्यंग्य गरिने गरिएको छ। जेनजी आन्दोलनमा पुराना कांग्रेस, एमाले, नेकपालगायतका नेताहरूका छोराछोरीलक्षित ‘नेपोबेबी, नेपोकिड्स’ भन्ने आरोप लाग्ने गर्दथ्यो। त्यही परिवेशलक्षित गर्दै प्रचण्डले अहिले नेपोबेबीहरू देखिन थालेको बताए।

कार्यक्रममा बोल्दै प्रचण्डले भने, “अहिले हावाहुरी नयाँ–नयाँ भन्नेमा चलेको छ। नयाँलाई हामी उच्च महत्व दिन चाहन्छौं। तर हिजोआज राम्रा–राम्रा समाचारहरू पनि आउन थालेका छन्। विस्तारै बडो रमाइलो लाग्न थालेको छ, समाचारहरू हेर्दा। अस्ति ‘नेपोबेबी, नेपोकिड्स, करप्सन’ भन्नेहरू अब ती नेपोबेबी, किड्स भन्नेहरू को रहेछन् भन्ने त देखिन थाल्यो नि।”

उनले यस विषयलाई जनताले छिट्टै बुझ्ने र त्यसका लागि आफूहरू तयार हुनुपर्ने बताए। प्रचण्डले भने, “अब त जनताले बुझ्ने दिन छिटै आउँछन् जस्तो लागेको छ मलाई। हामी आफू तयार हुनुपर्ने मात्रै हो। राम्रो दिन छिटै आउँदैछन्।”

उनले फेरि धुलोमैलो टकटक्याउँदै, फोहोर मैला सफा गर्दै फेरि जनताको साथमा फर्कनुपर्ने धारणा पनि राखे। प्रचण्डको यो अभिव्यक्तिले जेनजी आन्दोलनपछिको राजनीतिक समीकरण र नयाँ पुस्ताको उदयप्रति पुराना नेतृत्वको प्रतिक्रियाको रूपमा व्याख्या गर्न थालिएको छ। रास्वपाप्रति प्रत्यक्ष नाम नलिई गरिएको यो व्यंग्यले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button