हर्क साम्पाङको फेसबुक पेज पुनः सक्रिय, ‘यलम्बर सडक’ विवादपछि निलम्बन खुल्यो

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज फिर्ता आएको छ। बुधबार राति ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको उक्त पेज पुनः सक्रिय देखिएको हो।
१४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज केही दिनअघि अचानक हराएको थियो। अहिले पुनः सक्रिय बनेको पेजमा ६ दिनअघिको अन्तिम पोस्ट यथावत् देखिएको छ।
यसअघि सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ भनेर उल्लेख गरेपछि साम्पाङले सोही पेजमार्फत व्यंग्यात्मक प्रतिक्रिया जनाएका थिए। उनले ‘यलम्बर सडक’ नाम राख्नुपर्ने टिप्पणी गरेपछि सो अभिव्यक्ति विवादमा परेको थियो। त्यसपछि धेरै प्रयोगकर्ताले एकैपटक रिपोर्ट गरेपछि उक्त पेज अस्थायी रूपमा निलम्बनमा परेको थियो।
पेज पुनः सक्रिय भएसँगै साम्पाङले कुनै औपचारिक प्रतिक्रिया भने दिएका छैनन्। यद्यपि, उनका समर्थकहरूले भने पेज फिर्ता भएकोमा खुसी व्यक्त गरेका छन्। यसअघि पेज निलम्बन भएपछि साम्पाङले आफूविरुद्धको कारबाहीलाई ‘स्वतन्त्र अभिव्यक्तिमाथिको प्रहार’ भन्दै आक्रोश पोखेका थिए।





