१० बैशाख २०८३, बिहीबार

अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियान शनिबारबाट सुरु गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने तयारीलाई तीव्रता दिएका छन्। बुधबार साँझ सिंहदरबारमा सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा उनले आउँदो शनिबार र आइतबारदेखि अभियान सुरु गर्न निर्देशन दिएका छन्।

आजदेखि मात्रै गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँगको बैठकमा यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ। बैठकमा काठमाडौं उपत्यकाबाटै अभियान सुरु गरी क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरी बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयन गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ। यसका लागि आवश्यक समन्वय, जनशक्ति परिचालन र सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा समेत छलफल भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानमन्त्रीलाई उदृत गर्दै भन्यो, “अतिक्रमित सुकुम्बासी बस्ती हटाउने काम अब सुरु गर्नुपर्छ। यही शनिबार र आइतबार काठमाडौँबाटै यो अभियान सुरु गर्नू। यसका लागि स्थानीय सरकारलाई सरकारले जानकारी गराइसकेको हुनेछ। तपाईँहरू (सुरक्षा निकायका प्रमुख) ले स्थानीय सरकारसँग समन्वय गरेर सहयोग गर्नू।”

यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। तर त्यसबेला स्थानीय बासिन्दाको कडा विरोध र तत्कालीन सरकारको असहयोगका कारण अभियान सफल हुन सकेको थिएन। अहिले भने संघीय सरकारको नेतृत्वमै पुगेपछि उनले सोही मुद्दालाई पुनः अघि बढाएका हुन्। सरकारले स्थानीय सरकारसँगको समन्वयमा अभियान अगाडि बढाउने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button