एक सय रुपैयाँभन्दा माथिको सामानमा कर लगाउने नीतिविरुद्ध काठमाडौँमा प्रदर्शन, ‘सीमा शोषण बन्द गर’ नारा

काठमाडौँ — नेपाल–भारत सीमानामा लागू गरिएको एक सय रुपैयाँभन्दा माथिको सामानमा कर लगाउने सरकारी नीतिको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। आज अपरान्ह ‘युथ फर ट्रुथ’ को नेतृत्वमा मधेसवादी दलमा आवद्ध युवाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
त्यसक्रममा उनीहरूले तत्काल भन्सार कर खारेज गरी पूर्ववत् स्थिति कायम गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले ‘कर बढी चाहिँदैन, महँगी सहिँदैन, शोषण चल्दैन अब त सहिँदैन’, ‘खारेज गर खारेज गर’, ‘भन्सार कर खारेज गर’, ‘सीमा लुट बन्द गर’, ‘कर हटाउ देश बचाउँ’, ‘महँगी घटाउ राहत दिलाउ’, ‘सीमा शोषण बन्द गर’, ‘घुम्न गए सीमा पार आफ्नो मावली फर्किँदा बोर्डरमा भयो गोजी खाली’ नारा उल्लेखित प्लेकार्डहरू देखाएका थिए।
प्रदर्शनकारी युवाहरूले भारतबाट सानो परिणामको सामान आयात गर्दा समेत उच्च कर लाग्ने व्यवस्थाले सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आफ्ना माग पूरा नभए आगामी दिनमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्। सरकारले भने यो विषयमा कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन।





