१० बैशाख २०८३, बिहीबार

स्वास्थ्य बीमा बोर्डको निर्देशन : अनाधिकृत सामाजिक सञ्जाल पेज तत्काल हटाऊ, २४ घण्टाको म्याद

काठमाडौँ — स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ। बोर्डले बुधबार एक सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्युब लगायतका माध्यममा बोर्डको नाममा सञ्चालित अनधिकृत पेजहरूबाट भ्रामक र तथ्यहिन सूचना सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डका अनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम र लोगो प्रयोग गरेर खोलिएका पेजहरूले आम नागरिकमा भ्रम सिर्जना गरिरहेका छन्।

यस प्रकारका पेज तथा ग्रुपहरू सञ्चालन गर्ने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता सामग्री हटाउन बोर्डले सूचित गरेको छ। बोर्डले तोकिएको समयभित्र निर्देशन पालना नगरेको खण्डमा प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ।

बोर्डले आम नागरिकलाई कुनै पनि स्वास्थ्य बीमासम्बन्धी जानकारीका लागि आधिकारिक वेबसाइट र बोर्डको आधिकारिक सामाजिक सञ्जाल खाताहरू मात्र विश्वास गर्न आग्रह समेत गरेको छ। अनाधिकृत पेजहरूबाट फैलिएको सूचनाले सेवा लिनेहरूलाई अन्योल र समस्या निम्त्याउन सक्ने भन्दै बोर्डले सतर्कता अपनाउन अपील गरेको छ। यस्ता पेजहरू विरुद्ध नियमित अनुगमन गरिरहेको र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button