लाइसेन्समा थपिए ३९ फिचर : अब मोबाइलबाटै स्क्यान गरेर जाँच

काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थप सुरक्षा फिचरसहित छापिन थालेको छ। यसअघि १८ थरी फिचर मात्र रहेको लाइसेन्समा अहिले ३९ फिचर थपिएका छन्।
सुरक्षण मुद्रण केन्द्रका अनुसार नयाँ लाइसेन्समा इन्टेलिजेन्ट क्यूआर, रिडेबल जोन, साधारण आँखाले देखिने, उपकरणको सहायताले देखिने र ल्याबबाट मात्र देखिने गरी पाँच तहका लेयर राखिएका छन्।
लाइसेन्सको अगाडि र पछाडि गरी दुईवटा क्यूआर राखिएको छ। अगाडिको क्यूआर केन्द्रले र पछाडिको सेवाग्राही र ट्राफिक प्रहरीले स्क्यान गर्न सक्नेछन्। ट्राफिक प्रहरीलाई जाँचका लागि छुट्टै ‘की’ (कोड) दिइने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले बताए।
‘ट्राफिक प्रहरीले त्यो की आफ्नो प्रणालीमा इन्स्टल गरेपछि यातायात व्यवस्था विभागले राखेअनुसारको सेवाग्राहीको विवरण उपलब्ध हुन्छ,’ ढुंगानाले भने। सेवाग्राहीले भने क्यूआर स्क्यान गर्दा आफ्नो सामान्य विवरण मात्र हेर्न पाउनेछन्।
यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार पहिले चिप भएकाले जाँच गर्न छुट्टै डिभाइस चाहिन्थ्यो। अहिले क्यूआरको व्यवस्थाले स्मार्ट मोबाइलबाटै लाइसेन्स जाँच गर्न सकिने भएको छ।
केन्द्रले हाल दैनिक ४० हजार लाइसेन्स छापिरहेको छ। १३ कात्तिकमा भएको सम्झौता अनुसार १२ वैशाखभित्र १२ लाख लाइसेन्स छापेर दिइसक्ने ढुंगानाको भनाइ छ। बुधबारसम्म ९ लाख लाइसेन्स छापिसकेको उनले बताए। थप १७ लाख छाप्न गरी ४ वैशाखमा विभाग र केन्द्रबीच सम्झौता भइसकेको छ।
१ साउनदेखि सेवाग्राहीले लाइसेन्सको नवीकरण वा नयाँ लाइसेन्सका लागि राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने छैन। छापिएको लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइरहेको विभागले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारको एक सय कार्यसूचीमा सय दिनभित्र लाइसेन्स घरघर पुर्याउने उल्लेख छ। सोहीअनुसार काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।





