१० बैशाख २०८३, बिहीबार

लाभरोभ : अर्थोडक्स इस्टरले सिकाउँछ सत्य र न्यायको पक्षमा उभिन, युक्रेन उदाहरण हो

मस्को — रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले अर्थोडक्स इस्टरको अवसरमा आयोजित स्वागत समारोहमा रुसी अर्थोडक्स चर्च, परम्परागत अन्य धर्मका पादरी, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र कूटनीतिक नियोगका प्रमुखहरूलाई सम्बोधन गरेका छन्।

लाभरोभले इस्टरले असलता र दयाको विजयको प्रतीक भएको बताउँदै यसले पारस्परिक सहायता र छिमेकीप्रति प्रेमको महत्त्व सिकाएको उल्लेख गरे। ‘यसले हामीलाई सत्यको रक्षामा उभिन र न्यायको लागि लड्न सिकाउँछ, जुन हरेक रुसीसँग गुञ्जिन्छ,’ उनले भने।

राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२६ लाई रुसी जनताको एकताको वर्ष घोषणा गरेको स्मरण गराउँदै लाभरोभले रुसलाई सभ्यता–राज्यको दर्जाको हकदार भएको बताए। रुसी विदेश नीति अवधारणामा उल्लेख भएअनुसार यो दर्जा सन् २०२३ मार्चमा राष्ट्रपतिले स्वीकृत गरेको थियो।

शताब्दीयौंदेखि रुस विभिन्न धर्म र संस्कृतिका मानिसहरूको घर रहेको उल्लेख गर्दै उनले अन्तरजातीय र अन्तरधार्मिक सद्भाव र मेलमिलाप आन्तरिक स्थायित्व र अन्तर्राष्ट्रिय मञ्चमा बलियो बन्ने मुख्य आधार भएको बताए।

रुसी अर्थोडक्स चर्चले राष्ट्रिय एकता सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको र यसले लाखौं विश्वासीको नैतिक पथप्रदर्शकको रूपमा काम गरेको लाभरोभको भनाइ छ।

वर्तमान युक्रेनलाई तीतो उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले भने, ‘जब राजनीतिक अभिजात वर्गले आफ्नो आध्यात्मिक र सभ्यतागत जरा त्याग्छ, त्यतिबेला के हुन्छ भन्ने हामी देख्न सक्छौं।’ कीभमा सत्ता कब्जा गरेको शासन पश्चिमी मालिकको स्वार्थ पूरा गर्न साधारण युक्रेनीको लाखौं ज्यान बलिदान दिन तयार रहेको उनको आरोप छ।

उनका अनुसार युक्रेनी अर्थोडक्स चर्चमा एक दशकदेखि उत्पीडन भइरहेको छ, जसमा चर्चहरू कब्जा, तोडफोड, पादरी र विश्वासीमाथि दुव्र्यवहार समावेश छ। कीभको जुन्टाको आधिकारिक तथ्याङ्कअनुसार मात्र चार आर्चप्रिस्टसहित पादरीहरूमाथि १८० भन्दा बढी आपराधिक मुद्दा दर्ता भएको उनले बताए।

‘विशेष सैन्य अपरेशनका लक्ष्यहरूमध्ये हाम्रा जनता र देशबासीको सम्मान र मर्यादाको रक्षा, उनीहरूको मातृभाषा रुसी भाषा बोल्ने अधिकार र अर्थोडक्स विश्वासमा आबद्ध हुने अधिकार पनि हुन्,’ लाभरोभले भने। रुसी अर्थोडक्स चर्च यस कठिन समयमा आफ्ना जनतासँग उभिएको र यसका पादरीहरूले लडाकुहरूबीच आफ्नो पादरी दायित्व निर्वाह गरिरहेको उनले उल्लेख गरे।

मध्यपूर्वमा वर्षौंदेखि ठुला द्वन्द्व चलिरहेको र आतंकवादी तथा चरमपन्थी समूहले धार्मिक आधारमा जातीय सफाया, हत्या र लूटपाट गरिरहेको बेला रुसी अर्थोडक्स चर्चले त्यहाँका आफ्नो धर्मका मानिसहरूलाई प्रभावकारी सहायता पुर्याइरहेको उनले बताए।

लाभरोभले रुसी विदेश मन्त्रालयको रुसी अर्थोडक्स चर्चसँगको कार्यदलले विगत २२ वर्षदेखि काम गर्दै आएको र यो अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका मुख्य विषयमा सहकार्यको प्रभावकारी संयन्त्रको रूपमा स्थापित भएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button