जेनजी प्रदर्शन : ओली, लेखक, सिग्देल, बालेन, रविलगायतविरुद्ध कारबाही सिफारिस गर्दै मानवअधिकार आयोग

काठमाडौं — राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनमा आ–आफ्नो पद र जिम्मेवारीअनुसार केपी ओली, रमेश लेखक, अशोक सिग्देल, चन्द्रकुबेर खापुङ, विश्व अधिकारी, छविलाल रिजाल, बालेन साह, रवि लामिछाने, सुधन गुरुङ र गोकर्णमुनि दुवाडीसहितलाई कारबाही सिफारिस गरेको छ।
वरिष्ठ पत्रकार किशोर श्रेष्ठका अनुसार आयोगको प्रतिवेदन बैशाख १६ गते (जनआस्था निक्सने दिन) आगामी बुधबार सरकारलाई बुझाइँदै छ। प्रतिवेदनमा दोषीहरूमाथि कहाँ मुद्दा चलाउने भन्ने ठाउँसमेत तोकिएको छ।
श्रेष्ठले दाबी गरेका छन्, ‘यो आयोग गौरीबहादुर कार्कीको जस्तो विवादास्पद र कमजोर हुने छैन, बरु यसको प्रतिवेदन अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त हुनेछ।’
यही आयोगको सिफारिसलाई आधार बनाएर द्वन्द्वकालपछि परिवार भेट्न विदेश गएका कर्णेल कुमार लामालाई बेलायत सरकारले तीन वर्षसम्म स्थानहद तोकी कतै नजाने गरी नजरबन्दको सजाय दिएको उनको भनाइ छ। उनलाई छुटाएर ल्याउन नेपाल सरकारले संयुक्त राष्ट्र संघका मञ्चहरूमा कम्ती संघर्ष गर्नुपरेको थिएन।
श्रेष्ठले यो सूचना गलत नभएको र यसमा अलिकति पनि तलमाथि भएमा १६ गतेपछि खुलस्त आलोचना गर्न सकिने बताएका छन्।





