प्रश्नबाट भाग्दै रास्वपा नेता : गुरुङदेखि रिमासम्म मिडिया ट्रोलको शिकार

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू मिडियाको प्रश्नबाट भाग्न थालेका छन्। भर्खरै संसदीय अभ्यास बुझ्दै गरेका नेता सुरु–सुरुमा मिडियासँग मैत्रीपूर्ण रहे पनि आफ्ना अभिव्यक्ति ट्रोल बनेपछि उनीहरू क्यामेराबाट पन्छिन थालेका छन्।
निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिमाथि प्रश्न उठेपछि झनै नेता पत्रकारको प्रश्नबाट भागिरहेको देखिन्छ। सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै गुरुङ विवादमा परेका थिए। हदबन्दीभन्दा धेरै जग्गा, सुन र पैसाले उनलाई सार्वजनिक कठघरामा उभ्याइदिएको थियो। पोखराको फेवातालको जग्गा, सुन र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको सेयर लगानीका विषयमा पनि उनी मुछिए।
आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा गर्दै अनुसन्धानका लागि बाटो प्रशस्त गरिदिनुपर्ने रास्वपाको नीति भए पनि गुरुङले चार दिनसम्म आफूलाई पदमै ‘होल्ड’ गरे। दीपक भट्ट स्वामित्वको लघु बीमा कम्पनीमा सेयरधनी रहेको तथ्य बाहिरिए पनि प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले उनलाई फिर्ता बोलाउने आँट देखाएनन्।
‘राइट टु रिकल’ जस्तो प्रजातान्त्रिक अवधारणा अपनाएको रास्वपाले भने केही दिनअघि श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति गरिएको भन्दै पूर्व श्रममन्त्री दीपककुमार साहलाई बर्खास्त गरेको थियो। उनी १४ दिनमै मन्त्रालयबाट बाहिरिए। श्रीमती जुनु श्रेष्ठ योग्य भए पनि साहलाई नातावादको आरोप लागेको थियो।
परराष्ट्रमन्त्री शिशिर खनालले अघिल्लो कार्यकालमा तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालय सदस्य भिजिट भिसा प्रकरणमा संलग्न रहेको समाचार आएपछि नैतिकताको नाममा राजीनामा दिनुपर्ने बताएका थिए। तर आफ्नै पार्टीबाट गृहमन्त्री बनेका गुरुङमाथि आरोप लाग्दा उनी मौन बसे। उनले मन्त्रीको शपथ खाएको भोलिपल्टै पत्रकारलाई अनुमतिबिना बाइट नदिने आग्रह गरेका थिए।
कानुनमन्त्री सोबिता गौतम ‘व्यापारीले नेतालाई कुन स्वार्थमा पैसा दिन्छ?’ भन्दै उदाएकी थिइन् तर गुरुङको आरोपबारे उनले एक शब्द प्रतिक्रिया दिएकी छैनन्।
पत्रकार हुँदै कलाकारितामा लागेकी रिमा विश्वकर्मा नेताका रूपमा भने कमजोर देखिएकी छन्। चुनावका क्रममा उनले स्याङ्जालीलाई रास्वपालाई भोट दिएर जिताएमा पार्टी सभापति र प्रधानमन्त्रीलाई जिल्ला ल्याउने प्रतिबद्धता जनाएकी थिइन्। त्यसपछि युट्युबरले उनलाई ‘प्रधानमन्त्री तथा सभापतिलाई जिल्ला कहिले लैजानुहुन्छ?’ भन्दै प्रश्न गर्न थालेपछि उनी पन्छिने गरेकी छन्।
समाजसेवाबाट राजनीतिज्ञ बनेकी सांसद आशिका तामाङ पनि प्रश्नबाट भाग्न थालेकी छन्। राज्यको संरचना नबुझी स्थानीय तहको करसम्बन्धी विषयमा फेसबुकबाटै निर्देशन दिएपछि उनी आलोचनामा परिन्। स्थानीय तहले विज्ञप्ति निकालेरै संघीय सांसदले कार्यक्षेत्र नबुझी हस्तक्षेप गरेको आरोप लगाएका थिए। त्यसपछि संविधानको किताब लिएर हिन्दी गीतमा टिकटक बनाएपछि उनी पुनः ट्रोलको सिकार भइन्। पत्रकारले प्रश्न गर्दा उनले ‘काम गरेर खान’ अनुरोध गरेकी थिइन्।
सरकार बनेको छोटो समयमै मन्त्रीमाथि विभिन्न आरोप लागेपछि झन्डै बहुमतनजिक मत पाएको रास्वपाका नेताको मिडियासँग बोल्ती बन्द भएको छ। सामाजिक सञ्जाल तथा नागरिक समाजले समेत नेताहरू प्रश्नबाट किन भागिरहेका छन् भनेर शंका गरिरहेको छ।





