१० बैशाख २०८३, बिहीबार

रणनीतिक दरवाङ–मुना–ढोरपाटन सडक सुस्त : ठेकेदारले घटाए मजदुर र उपकरण

म्याग्दी — रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिँदा स्थानीयवासी चिन्तित भएका छन्।

धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाका अनुसार यस वर्ष २३ करोड रुपैयाँ बजेट भएको यस योजनामा हालसम्म जम्मा ५–६ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको संख्या घटाएका छन्। ‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजनाले गति नलिँदा अलपत्र पर्ने जोखिम बढेको छ,’ उनले भने।

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकै ठूलो बजेटको योजनाअन्तर्गत दरवाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ। प्रशासनिक खर्चबाहेक ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि ५२ करोड ८० लाख ५३ हजार रुपैयाँमा २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो।

पूर्वाधार विकास कार्यालयका अनुसार २०८२ कात्तिकदेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिको कारण देखाएर ठेकेदारले कामको गति घटाएको बताए।

‘दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ,’ उनले भने।

संघीय र प्रदेश सरकारको ५०–५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको हो। चालू आर्थिक वर्ष २०८२/८३ मा यसका लागि २३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको छ। आगामी आवसम्म निर्माण पूरा नभए संघीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिने जोखिम रहेको छ।

२०७१ सालमै मुनामा सडक पुगेको भए पनि हालसम्म कच्ची अवस्थामै छ। यो सडक खण्डले म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकासहित बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आउजाउ गर्न ५० किलोमिटर छोटो पार्नेछ।

म्याग्दी (ख) बाट निर्वाचित प्रदेश सांसद रेशमबहादुर जुग्जालीले रणनीतिक महत्त्वको सडक निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए।

यसै सडकअन्तर्गत धारापानी–ताकम–झिनडाँडा खण्डको ६ किलोमिटर दूरी कालोपत्र र ढलानका लागि आव २०८०/८१ मा १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले मूल्यवृद्धिका बाबजुद योजना सम्पन्न गर्न लागिएको दाबी गरे। हाल बेनीदेखि तालावाङसम्म १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button