धर्मशालामा तिब्बती निर्वासित सरकारको शपथ : अमेरिकी सहायक मन्त्रीको चासो, चीनको आपत्ति, नेपाल मौन

काठमाडौं — भारतको हिमाञ्चल प्रदेशस्थित तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको निवास रहेको धर्मशालामा आगामी मे २७ तारिखका दिन निर्वासित तिब्बत सरकारका नयाँ प्रतिनिधिहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ। यस विषयलाई लिएर पुनः चर्चा चुलिएको छ। विशेषगरी पश्चिमा मुलुकका केही राजनीतिक नेता तथा समूहले उक्त विषयलाई उचाल्न थालेको बुझिएको छ।
मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी विदेश सहायकमन्त्री समिर पल कपुरले नेपालको तीन दिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि नेपाली अधिकारीहरूसँगको भेटमा व्यक्त गरेको चासोले पनि मे २७ को उक्त कार्यक्रमलाई थप चर्चामा ल्याइदिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीहरूको आर्थिक तथा व्यावसायिक सहजताका लागि आवश्यक व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए।
दक्षिण एसिया र नेपालको भूराजनीतिक दृष्टिले अत्यन्त संवेदनशील मानिने तिब्बती शरणार्थीको विषय तथा धर्मशालामा हुन लागेको शपथ ग्रहण समारोहको चर्चाले राजनीतिक तथा कूटनीतिक क्षेत्र पुनः तातेको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनपछि नेपाल आएका पहिलो उच्चस्तरीय विदेशी तथा अमेरिकी राजनीतिक नेतृत्व भएकाले कपुरको भ्रमणलाई विशेष चासोका साथ हेरिएको थियो।
यसअघि, तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामा स्वयमले बधाई दिएका थिए भने प्रधानमन्त्री बालेन शाहलाई दलाई लामाका प्रधानमन्त्रीले सरकारको नेतृत्व गरेको अवसरमा बधाई दिएका थिए। सोही सन्दर्भमा आगामी शपथ ग्रहण कार्यक्रममा नेपालका कुनै सरकारी अधिकारी वा राजनीतिक प्रतिनिधिले सहभागिता जनाउने सम्भावनाबारे विभिन्न आशंका गरिएको छ।
यस विषयमा चीनले औपचारिक रूपमा नेपाल सरकारसमक्ष आफ्नो कडा आपत्ति रहने जनाउँदै एक महिना अगावै सजगता अपनाउन सुझाएको स्रोतले जनाएको छ। तर परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने औपचारिक रूपमा यसबारे केही बताएका छैनन्।





