लुम्बिनीका निर्माण व्यवसायीको चेतावनी : सम्पन्न आयोजनाको भुक्तानी नपाए आन्दोलन गर्छौं

बुटवल — लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नपाए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
निर्माण व्यवसायीहरूले आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकार अन्तर्गत विभिन्न आयोजनाहरूमा सार्वजनिक खरिद प्रक्रिया अनुसार ठेक्का सम्झौता गरी तोकिएको मापदण्डअनुसार काम सम्पन्न गरेको बताएका छन्। सम्बन्धित निकायबाट नियमित अनुगमन र कार्यसमापन प्रमाणित भइसकेको भए पनि हालसम्म भुक्तानी नपाएको उनीहरूको गुनासो छ।
व्यवसायीहरूका अनुसार प्रदेश सरकारले बजेट अभाव र घाटा बजेटको कारण देखाउँदै भुक्तानी रोकेको छ, जसले उनीहरूलाई गम्भीर आर्थिक संकटमा पारेको छ। बैंक ऋण, श्रमिकको ज्याला र सामग्री आपूर्तिकर्ताको भुक्तानी गर्न नसक्ने अवस्था आएको उनीहरूले बताएका छन्।
व्यवसायीहरूले यो समस्या निर्माण क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको दाबी गर्दै तीन बुँदे माग राखेका छन् :
१. सम्पन्न सबै निर्माण कार्यहरूको भुक्तानी तुरुन्त उपलब्ध गराउनुपर्ने,
२. बजेट अभाव देखाएर भुक्तानी रोक्ने अभ्यास अन्त्य गर्नुपर्ने,
३. भविष्यमा यस्ता समस्या नदोहोरिने गरी ठोस नीति निर्माण गर्नुपर्ने।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत निर्माण व्यवसायीहरूले दिएका छन्।





