इन्द्रावती तेस्रो जलविद्युत एक महिनादेखि ठप्प : दैनिक ४ लाखको आम्दानी गुम्दै

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकस्थित इन्द्रावती तेस्रो जलविद्युत आयोजना एक महिनादेखि ठप्प छ। ७.५ मेगावाट क्षमताको यस आयोजना मर्मतमा नेसनल हाइड्रोपावर व्यवस्थापनले सक्रियता नदेखाउँदा दैनिक सरदर ४ लाख रुपैयाँ आम्दानी गुमाउँदै आएको छ।
नेपाली मात्रको निजी क्षेत्रको लगानीमा २३ वर्षअघि विद्युत उत्पादन सुरु गरेको आयोजनाको निर्माण नेसनल हाइड्रोपावरले गरेको हो। पाँचपोखरी गाउँपालिकामा ड्याम र मेलम्ची नगरपालिकामा पावर हाउस रहेको आयोजनाले सुख्खा मौसममा औसत ३.५ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो।
महंगोमा विद्युत बिक्री हुने सिजनमा उत्पादन बन्द हुँदा दैनिक लाखौं रुपैयाँ गुमाउनुपरेको आयोजनाका एक कर्मचारीले बताए। यस अवधिमा करिब १ करोड २० लाख रुपैयाँ आम्दानी गुमिसकेको उनको भनाइ छ। आयोजनाले २१ असोज २०५९ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।
आयोजनाको पेनस्टक पाइप गत १० चैतमा फुटेको थियो। मर्मतका लागि लगानी गर्न बैंकका कर्मचारी र परामर्शदाताहरूले १५ दिनअघि नै आयोजनास्थलको निरीक्षण गरेका थिए। तर बैंकले सहजै ऋण उपलब्ध गराउने अवस्था नभएकाले मर्मत रोकिएको स्रोतको भनाइ छ। व्यवस्थापकीय पक्षले सम्पादन गर्ने कामका विषयमा प्रश्न उठाएर बैंकले ऋण प्रवाहमा आनाकानी गरिरहेको स्रोतको दाबी छ।
कम्पनीका सञ्चालक विशेश्वर सुवेदीले मर्मतका लागि प्राविधिक अनुमान भइरहेको, इन्स्योरेन्स दाबी गरिएको र रकम अपुग भए आफ्नै आम्दानीले भए पनि मर्मत गरेर सञ्चालन गर्ने बताए। ‘आयोजना धेरै पुरानो भएकाले मर्मत गर्नुपर्ने समय भएको छ,’ उनले भने।
२०८१ असारमा आएको बाढीले क्षति गर्दा आयोजनामा त्यतिबेलै करोडौं रुपैयाँ खर्च भएको थियो। अहिले करिब ३३ मिटर टनेलको केही भागमा मर्मत गर्नुपर्ने अवस्था आएको सुवेदीले जानकारी दिए।
२०४६ को राजनीतिक परिवर्तनपछि नेपाली मात्रको निजी लगानीमा बनेको यो आयोजनाको व्यवस्थापन सुरुदेखि नै चुस्त र पारदर्शी नभएका कारण सेयर सदस्यहरूले उचित लाभांस नपाएको गुनासो गर्दै आएका छन्। एनबी ग्रुपले लिड गरेको यो आयोजना व्यवस्थापनमा समस्या देखिएपछि नेसनल कम्पनी अन्यको हातमा गएको थियो।
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकमै तल्लो इन्द्रावती निर्माण गरिरहेको छ भने भोजपुरस्थित १४.१५ मेगावाटको इर्खुवाखोला आयोजनामा पनि ठूलो हिस्सा लगानी गरेको छ। तर, इन्द्रावती तेस्रो आयोजनाका कर्मचारीले भने समयमा तलबसमेत नपाएको गुनासो गरेका छन्।





