नेपाली भूमिबाट छिमेकीविरुद्ध कुनै गतिविधि हुन दिँदैनौं : अर्थमन्त्री वाग्ले, चिनियाँ बैंक स्थापनालाई प्राथमिकता

काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाली भूमिबाट कुनै पनि छिमेकीविरुद्ध कुनै प्रकारका गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नेपालमा चिनियाँ बैंक स्थापनालाई प्राथमिकतामा राखिएको बताए।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चीनबाट भएको सहयोगको सराहना गर्दै उनले चीनले हासिल गरेको विकासबाट नेपाल सिक्न आतुर रहेको बताए।
अर्थमन्त्री वाग्लेले चिनियाँ सहयोगमा निर्मित काठमाडौंको चक्रपथ, केरुङ–काठमाडौं सडक स्तरोन्नति तथा रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको उल्लेख गरे।
‘नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका लागि चिनियाँ पक्षसँग छलफल जारी छ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरे।g





