बालेनको निर्देशन : काठमाडौंबाट सुरु हुनेछ सुकुम्बासी बस्ती खाली अभियान

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुधबार साँझ सुरक्षा प्रमुखहरूलाई अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएको स्रोतले जनाएको छ। उनले काठमाडौं उपत्यकाबाटै सो अभियान सुरु गर्न निर्देशन दिएको बताइएको छ।
संसदमा झण्डै दुई तिहाइको बलमा बनेको सरकार सुशासन र सुधारका क्षेत्रमा केही सकारात्मक निर्णय गर्दै आएको छ। तर सरकारको एक महिना पनि नपुगेको अवधिमा यसको पूर्ण समीक्षा भने सम्भव नभएको विज्ञहरू बताउँछन्।
प्रधानमन्त्री बालेन आएलगत्तै जेन–जी आन्दोलनमा विद्यार्थी हत्याको अभियोगमा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। कार्की आयोगको प्रतिवेदनको आधारमा पक्राउ परेका ती दुवै अदालतको आदेशपछि रिहा भइसकेका छन्। उनीहरूविरुद्ध अहिलेसम्म अदालतमा मुद्दा दायर भएको छैन।
सम्पत्ति शुद्धीकरणको विषयमा प्रहरीले व्यवसायी दीपक भट्ट, शंकर अग्रवाल र सुलभ अग्रवाललाई पक्राउ गरेको थियो। भट्ट र सुलभ अग्रवाल हिरासतमा रहेको भए पनि शंकर अग्रवाल हाजिरी जमानीमा रिहा भइसकेका छन्। भट्टको पक्राउसँगै बाहिरिएका कागजातमा गृहमन्त्री सुधन गुरुङसहित अन्य व्यवसायी, कर्मचारी र परिवारहरू जोडिएको देखाएपछि गुरुङले राजीनामा दिएका छन्।
यद्यपि सरकारको एउटा पक्षले बृहत् अनुसन्धान अगाडि बढाउँदा अर्थतन्त्र नै हल्लिने तर्क गर्दै चयनमुखी अनुसन्धानमा जोड दिएको पाइन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा भूमिको नयाँ वर्गीकरण वा उपयोगको नीति उल्लेख नभएको र बालेन सरकारको एक सय कार्यसूचीमा पनि भूमिसम्बन्धी नयाँ नीति नरहेको सन्दर्भमा सरकारले अहिले सुकुम्बासी बस्ती खाली गराउने अभियानलाई प्राथमिकतामा राखेको देखिएको छ।
सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व सरकारको भए पनि जनताको आवासको अधिकार सुरक्षित गर्दै विकासको नेतृत्व गर्ने दायित्वसमेत सरकारको रहेको जानकारहरू बताउँछन्।





