१० बैशाख २०८३, बिहीबार

२७ दिनमा दुई मन्त्री बर्खास्त : गुरुङको पक्राउ अभियान आफैँमा गलपासो

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना दिन पुग्न अझै तीन दिन बाँकी छ। पुराना दलमाथि प्रहार गर्दै सुशासनको जग बसाउने एजेन्डासहित १३ चैतमा गठन भएको सरकारको २७ दिने समयावधिमै दुई मन्त्री विवादित बने। विवादमा परेर दुई मन्त्री बर्खास्तीमा पर्दा प्रधानमन्त्री बालेनमाथि दबाब बढेको चर्चा छ।

रास्वपाले सांसद वा मन्त्री विवादमा तानिए फिर्ता बोलाउने (राइट टु रिकल) को निर्णय सरकार गठनपूर्व नै गरेको थियो। सोहीअनुसार विवादमा परेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहले २६ चैतमा राजीनामा दिए। उनीमाथि निष्क्रिय रहेको बीमा संस्थानमा श्रीमतीलाई सक्रिय बनाउन भूमिका खेलेको आरोप थियो। उनी नियुक्तिको १४ दिनमै पदमुक्त भए।

त्यसैगरी, गृहमन्त्री सुधन गुरुङले २६ दिनमै राजीनामा दिनुपरेको छ। शपथको भोलिपल्ट १४ चैतबाटै उनले उच्च पदस्थ व्यक्तिलाई पक्राउ गर्ने शैली अपनाए। फलस्वरूप पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे। जेन–जी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदनलाई आधार मानी उनले पक्राउ गराएका थिए।

यसपछि उनी व्यवसायीमाथि केन्द्रित भए। व्यवसायी दीपक भट्ट, शंकरलाल अग्रवाल र सुलभ अग्रवाल पक्राउ परे। तर २२ चैतमा फेवाताल किनारको आफ्नै जग्गा विवादमा गुरुङ मुछिए। आफ्नै सम्पत्तिमाथि निर्णय गर्ने अवस्थाले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको बहस सुरु भयो।

२९ चैतमा मन्त्रीपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरे। गुरुङको २६० रोपनी जग्गा विवाद बाहिरियो। ६ वैशाखमा उनले करिब ५३ लाख रुपैयाँ बराबरको शेयर खरिद गरेको विवरण सार्वजनिक भयो। सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टसँग शेयर साझेदारी गरेको आरोप लागेपछि प्रधानमन्त्री शाहले नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाए। सोहीअनुसार ९ वैशाखमा उनले राजीनामा दिए।

गृहमन्त्री गुरुङका मुख्य घटनाक्रम :

· १३ चैत : गृहमन्त्री पदको शपथ
· १४ चैत : पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ
· १५ चैत : पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
· १९ चैत : व्यवसायी दीपक भट्ट पक्राउ
· २० चैत : शंकरलाल अग्रवाल पक्राउ, मन्त्रालयकै सोफामा निदाएको तस्वीर सार्वजनिक
· २२ चैत : फेवाताल किनारको आफ्नै २० रोपनी जग्गा विवाद
· २५ चैत : सुलभ अग्रवाल पक्राउ
· २९ चैत : सम्पत्ति विवरण सार्वजनिक, २६० रोपनी जग्गा विवाद
· ६ वैशाख : ५३ लाखको शेयर खरिद, भट्ट र अग्रवालसँग साझेदारी आरोप
· ९ वैशाख : पदबाट राजीनामा

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button