ट्रम्पको विवादास्पद टिप्पणी : ‘भारत र चीन नरकको ढोका हुन्, अब मेल्टिङ पट सकियो’

वासिङ्टन डिसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनलाई ‘नरकको ढोका’ भन्दै विवादास्पद टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक पत्रमा उनले जन्मको आधारमा नागरिकता दिने प्रणालीको आलोचना गर्दै यी देशमाथि कडा अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले क्यालिफोर्नियाको प्रविधि क्षेत्रमा भारतीय र चिनियाँ समुदायको प्रभाव अत्यधिक बढेको दाबी गर्दै भने, ‘यहाँ जन्मिएको बच्चा तुरुन्तै नागरिक बन्छ, त्यसपछि उनीहरूले भारत वा चीनलगायत संसारका नरकका ढोकाहरूबाट आफ्नो पूरै परिवारलाई यहाँ ल्याउँछन्।’
उनले पुरानो अमेरिकी आप्रवासी धारणा ‘मेल्टिङ पट’ (साझा पहिचानमा समाहित हुने प्रक्रिया) सकिएको दाबी गर्दै भने, ‘यो अब साझा मूल्यमा समाहित हुने प्रक्रिया होइन, केवल फाइदा लुट्ने भाँडो मात्र बनेको छ।’ उनले ‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ (एसीएलयु) माथि पनि कडा कानुनी कारबाही हुनुपर्ने बताए।
ट्रम्पले जन्मको आधारमा दिइने नागरिकता (बर्थराइट सिटिजनसिप) जस्तो महत्त्वपूर्ण विषय अदालत वा वकिलको हातमा नछोडी देशव्यापी जनमतसंग्रहमार्फत टुंग्याउनुपर्ने बताए। उनले यसअघि सन् २०२५ जनवरीमा जन्मका आधारमा नागरिकता रोक्न आदेश जारी गर्ने प्रयास गरेका थिए, तर संघीय अदालतले अस्थायी रूपमा रोक लगाएको थियो। यो विषय अझै कानुनी प्रक्रियामा रहेको छ।
अमेरिकाको ‘फोर्टिन्थ एमेन्डमेन्ट’ (सन् १८६८) ले अमेरिकी भूमिमा जन्मनेबितिकै नागरिकता पाइने व्यवस्था गरेको छ। प्यु रिसर्च सेन्टरको सन् २०२२ को प्रतिवेदनअनुसार करिब १६ लाख भारतीय मूलका बालबालिकाले यही व्यवस्थाबाट अमेरिकी नागरिकता प्राप्त गरेका छन्।





