रुस–सेसेल्स : कूटनीतिक सम्बन्धको ५० वर्ष, पर्यटन र व्यापार विस्तारका लागि छलफल

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सेसेल्सका राष्ट्रपति डा. प्याट्रिक हर्मिनीबीच मस्कोमा वार्ता भएको छ। दुई नेताबीच राजनीतिक, व्यापारिक, आर्थिक र मानवीय क्षेत्रमा द्विपक्षीय सहकार्य विकास तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको हो।

वार्ताका क्रममा राष्ट्रपति पुटिनले सेसेल्स राष्ट्रपतिलाई रुस भ्रमणको निमन्त्रणा स्वीकार गरेकोमा धन्यवाद दिँदै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने उल्लेख गरे। पुटिनले अहिले व्यापार र आर्थिक सम्बन्धको परिमाण मामुली रहे पनि वृद्धिको स्पष्ट सम्भावना रहेको र राष्ट्रपतिको भ्रमण यसका लागि महत्वपूर्ण रहेको बताए।

अन्तर्राष्ट्रिय मञ्चहरूमा उत्कृष्ट सहकार्य भइरहेको र सेसेल्सले संयुक्त राष्ट्र संघमा रुसी पहलहरूलाई समर्थन गरेकोमा रुस आभारी रहेको पुटिनले जनाए।
सेसेल्स घुम्न जाने रुसी पर्यटकको सङ्ख्या बढ्दो छ र तिनीहरू सेसेल्सको कुल पर्यटक आगमनको कम्तीमा १५ प्रतिशत रहेको पुटिनले बताए। यो राम्रो संकेत भए पनि रुसी पर्यटकको सङ्ख्या वृद्धि गर्ने ठाउँ रहेको र सेसेल्सले रुसी नागरिकका लागि अनुकूल वातावरण सिर्जना गरेकोमा धन्यवाद दिए। पुटिनले यस बैठकमा सरकार र केन्द्रीय बैंङ्कका आफ्ना सहकर्मीहरूलाई पनि सहभागी गराउने बताउँदै पर्यटन क्षेत्र विकासलगायत धेरै विषयमा छलफलको आवश्यकता रहेको उल्लेख गरे।

सेसेल्सको अद्वितीय संस्कृतिले रुसी जनताको चासो जगाउने विश्वास पुटिनले व्यक्त गरे। सेसेल्सका प्रतिनिधिहरू रुस–अफ्रिका फोरममा सहभागी भइसकेका र तेस्रो संस्करणको तयारी भइरहेको भन्दै यस उच्चस्तरीय फोरममा सेसेल्सले सहभागिता जनाउने अपेक्षा रहेको पुटिनले बताए।
अन्त्यमा राष्ट्रपति पुटिनले सेसेल्सका राष्ट्रपतिलाई चुनावी अभियानको सफल परिणाम र राष्ट्रपति निर्वाचनमा जितको लागि बधाई दिँदै उनको भ्रमणका क्रममा व्यक्तिगत रूपमा बधाई दिन पाउँदा विशेष प्रसन्नता व्यक्त गरे।





