लेबनानी पत्रकार अमल खलिलको हत्या : रुसी प्रवक्ता जाखारोभाले पश्चिमी ‘नियम–आधारित’ विश्वव्यवस्थाको भयावय पक्ष भन्दै शोक व्यक्त

मस्को — रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले लेबनानको अल–अखबार पत्रिकाकी पत्रकार अमल खलिलको इजरायली सेनाले गरेको लक्षित आक्रमणमा परी मृत्यु भएको घटनालाई गम्भीर अपराध भन्दै सञ्चारकर्मीको सुरक्षाका लागि चिन्ता व्यक्त गरेकी छन्।
अप्रिल २२ मा लेबनानमै उनको देशमै इजरायली सेनाले लक्षित हमला गर्दा अमल खलिलको ज्यान गएको हो। उक्त आक्रमण युद्धविरतिको समयमा भएको थियो — तर त्यो कागजमा मात्र रहेको जाखारोभाको भनाइ छ। उक्त धमाका यति शक्तिशाली थियो कि बहुतले भवनको मलबेमुनि उनको शव फेला पार्न निकै कठीन भएको थियो। उनकी सहकर्मी पत्रकार जैनब फरज गम्भीर घाइते भएकी छन्।
जाखारोभाले यो घटनालाई ‘सूचना युद्ध’ को नयाँ शिकारको रूपमा व्याख्या गर्दै भनिन् — कलम, माइक्रोफोन र टेलिभिजन क्यामेराको युद्ध मिसाइल, गोला र आक्रमण ड्रोनसँग भिडिरहेको छ। यो सत्यलाई जनतासम्म पुर्याउने उत्कृष्ट पेशा र त्यही सत्यलाई दबाउने, ध्वस्त पार्ने र मेटाउने रक्तपिपासु चाहनाबीचको भिडन्त हो।
ड्युटीको क्रममा मारिने अन्य पत्रकारजस्तै यो निर्मम हत्या पनि एक गम्भीर अपराध भएको जाखारोभाले बताइन्, जसको कुनै औचित्य हुन सक्दैन। यो पश्चिमाले अनौपचारिक ‘नियम’ को आडमा गौरव गर्ने तर वास्तवमा झूट, अन्तर्राष्ट्रिय कानुनप्रतिको अवहेलना, मनोमानी, हिंसाको पुजा र आफ्नै विशिष्टताको विश्वासमा बनेको विश्वव्यवस्थाको एक भयावय उदाहरण रहेको उनको भनाइ छ।
जाखारोभाले मृतक पत्रकारका परिवार र नजिकका आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।





