अरनिको राजमार्ग विस्तार : सामग्री अभाव र मूल्यवृद्धिले निर्माण सुस्त, ७० प्रतिशत मात्र प्रगति

काभ्रेपलाञ्चोक — भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको अरनिको राजमार्गअन्तर्गत रहेको सडकलाई छ लेनमा विस्तार गर्ने कार्यको भौतिक प्रगति ७० प्रतिशत मात्र पुगेको छ। करिब तीन वर्षअघि सुरु भएको यस आयोजनाको काम निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि र बजारको असहज अवस्थाका कारण सुस्त बनेको निर्माण कम्पनीहरूले जनाएका छन्।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार हालसम्म ७० प्रतिशत भौतिक प्रगति भए पनि पछिल्लो डेढ महिनादेखि निर्माण कार्यको गति सुस्त बनेको छ। लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन्।
लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको बताए। उनले सरकारले तत्काल ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गरे। निर्माण व्यवसायीहरूले भारतबाट बिटुमिन (सडक पक्की गर्ने कच्चा पदार्थ) तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ छ।
साँगा–धुलिखेल सडकखण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भएको छ भने भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने हालसम्म ४८ प्रतिशत मात्रै काम पूरा भएको जनाइएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्य रहेको थियो। आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिम साता थप एक वर्षका लागि म्याद थप गरी कामलाई तीव्रता दिइएको थियो। तर सामग्री अभावका कारण पुनः काम सुस्त बनेको छ।
यसैबीच, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्न सक्ने भन्दै निर्माण कम्पनीहरूलाई पूर्वतयारीमा जोड दिन आग्रह गरे। प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वर्षा नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्री तथा स्थानीयलाई ठूलो समस्या भएकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न कठिन भएको स्वीकार गर्दै निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकारी तहमा पहल भइरहेको र भारतबाट बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको जानकारी दिए।
दुई लेन रहेको उक्त राजमार्गको यो खण्डलाई छ लेनमा विस्तार गर्दै दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण भइरहेको छ। साँगा क्षेत्रमा अन्डरपास निर्माणकार्य भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा पर्खाल र फिलिङको काम भइरहेको आयोजनाले जनाएको छ। यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।





