११ बैशाख २०८३, शुक्रबार

सुकुम्बासी बस्तीमा डोजर : चुनावअघि ‘छाती कुल्चेर जान्छु’ भन्ने लामिछाने अहिले मौन, बालेनको निर्देशनपछि माइकिङ सुरु

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावअघि सुकुम्बासी बस्तीमा डोजर नचल्ने भन्दै ‘मेरो छाती कुल्चेर जानेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। तर पार्टी सरकारमा गएको महिना दिन नपुग्दै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि लामिछाने मौन बसेका छन्।

बुधबार साँझ सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि प्रधानमन्त्री शाहले देशभरका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए। सोही निर्देशनपछि बिहीबार साँझ थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायले माइकिङ गरेको छ। आइतबार उक्त बस्तीमा डोजर चल्ने जनाइएको छ।

यसअघि तत्कालीन गृहमन्त्री सुधन गुरुङ विवादमा मुछिएर राजीनामा दिएपछि शाहले गृहको जिम्मेवारी सम्हालेका थिए। त्यसलगत्तै उनले सुरक्षा निकायसँग सुकुम्बासी बस्ती खाली गराउने विषयमा छलफल गरेका थिए।

चुनावअघि लामिछानेले भनेका थिए, ‘गरिब बस्तीमा गएर भन्ने गरिएको छ। यो रवि लामिछानेलाई नजिताउनु होला। यसलाई जितायो भने त गरिब बस्तीमा डोजर लाउँछ, भत्काउँछ भनेर भ्रम छरिएको छ। तपाईंको वस्तीमा डोजर छिर्नुभन्दा पहिला, तपाईंको बस्ती भत्काउनुभन्दा पहिला, तपाईंको बस्ती मासिनुभन्दा पहिला मेरो छाती कुल्चेर जानेछ। मेरो छाती कुल्चेर कोही जान पाउने छैन।’

तर सरकारले सुकुम्बासी बस्ती खाली गर्न माइकिङ थालेपछि उक्त भिडियो भाइरल बनेको छ। लामिछानेले भने यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। प्रधानमन्त्री शाहले यो निर्णय पार्टीसँग सल्लाह गरेर गरेका हुन् वा एकल हो भन्ने विषयमा रास्वपाका नेताहरूले समेत खुलेर बोल्न सकेका छैनन्।

यसैबीच, सरकारको यो कदमप्रति नागरिक समाज तथा विभिन्न संघ–संस्थाले तीब्र विरोध जनाएका छन्। वृहत्त नागरिक आन्दोलनले प्रमाणीकरण, पुनर्वास, सुरक्षित आवास तथा वैकल्पिक जीविकोपार्जनको सुनिश्चितता बिना नागरिकलाई बलपूर्वक हटाउने कदम अस्वीकार्य रहेको जनाउँदै बलप्रयोग भएमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले सुकुम्बासीमाथि राज्यले गर्न लागेको हमला ‘राज्य–आतंक’ भएको बताएको छ। जवाफदेहिता निगरानी समितिले उठिबास लगाउने कार्य मानवअधिकारको गम्भीर उल्लंघन भएको जनाएको छ।

जेनजी अभियान्ता रक्षाले सामाजिक सञ्जालमा लामिछानेलाई लक्षित गर्दै भोलि छाती थाप्न जानुहुन्छ कि भनेर प्रश्न गरेकी छन्। ‘वर्षौंदेखि सुकुम्बासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे। आज सुकुम्बासी बस्ती आतंकित छ। भोलि आउनुस्,’ उनले लेखेकी छिन्।

यता, सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सष्मित पोखरेलले बिहीबार पत्रकारले सुकुम्बासी बस्ती हटाउने विषयमा सोध्दा ‘मन्त्रिपरिषद्बाट त्यस्तो कुनै निर्णय नभएको’ बताएकी थिइन्। तर केही घण्टापछि नै थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न माइकिङ भएको थियो।

केही दिनअघि अन्य ठाउँमा डोजर चलाइएको विषयमा सञ्चारकर्मीले प्रश्न गर्दा लामिछानेले आफू अनविज्ञ रहेको बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button