११ बैशाख २०८३, शुक्रबार

अमेरिकी सहायक विदेशमन्त्री कपुर भ्रमणपछि चीनले नेपालमा ‘चासो’ बढायो, चिनियाँ अधिकारी सोही दिन परराष्ट्र मन्त्रालयमा

काठमाडौँ — दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरको नेपाल भ्रमणप्रति भारतसँगै चीनले पनि उच्च चासो व्यक्त गरेको छ। सोमबार नेपाल भ्रमणमा आएका कपुर बुधबार फर्किसकेका छन् भने चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागकी उपनिर्देशक काओ झिंग पनि नेपाल आएर उच्चस्तरीय भेटघाट गरी स्वदेश फर्किसकेकी छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेकै दिन काओ पनि परराष्ट्र मन्त्रालय पुगेकी थिइन्। उनले मन्त्रालयमा सचिव अमृतबहादुर राईलाई भेटेर कपुरको भ्रमणबारे चासो राखेकी थिइन्।

कपुरले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री खनाललाई छुट्टाछुट्टै भेट गरेका थिए। उक्त भेटका क्रममा कपुरले तिब्बती शरणार्थीको विषय उठाएका थिए। मन्त्रालय स्रोतका अनुसार कपुरले तिब्बती शरणार्थीको सुरक्षा र व्यवस्थाबारे चासो राख्दा त्यसमा काओ झिंगले आपत्ति जनाएकी थिइन्।

नेपालमा तिब्बती शरणार्थीहरूको स्थिति र १४औँ दलाई लामाका प्रतिनिधिहरूको हालैका भ्रमणहरूलाई लिएर झिंगले चासो देखाएको मन्त्रालय स्रोतले जनाएको छ। साथै, जेठ १३ (मे २७) मा भारतको धर्मशालामा हुने केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष पेन्पा छिरिङको शपथ ग्रहण समारोहमा नेपाल सहभागी हुने विषयलाई पनि चीनले चासोका साथ हेरेको छ। उक्त कार्यक्रमका लागि नेपाललाई पनि निम्तो आउन सक्ने भएकाले त्यतिबेला नेपाल सरकारले के गर्ने भन्ने चीनको जिज्ञासा रहेको स्रोतले बताएको छ।

यसअघि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चैत ३० गते तत्कालीन गृहमन्त्री सुधन गुरुङसँगको भेटमा पनि नेपालमा बढ्दै गएको चिनियाँविरोधी गतिविधिबारे कुरा उठाएका थिए। राजदूत चाङले नेपालमा तिब्बती राजनीतिक कार्यक्रमबारे पनि चासो व्यक्त गर्दै मे २७ को शपथ ग्रहण समारोहमा नेपालबाट सहभागी हुने विषयमा चिन्ता व्यक्त गरेका थिए।

यसैबीच, उपनिर्देशक काओले नेकपा एमाले र नेकपाका केही नेताहरूसँग पनि भेट गरेको स्रोतहरूको दाबी छ, तर त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन। एसियाली मामिला विभागले चीनको विदेश नीति र सिद्धान्तहरू कार्यान्वयन गर्ने, सम्बन्धित देश र क्षेत्रहरूसँग कूटनीतिक मामिला सम्हाल्ने, आवश्यकता अनुसार प्रतिनिधित्व पठाउने र चीनका विदेशी कूटनीतिक नियोगहरूलाई मार्गदर्शन गर्ने जिम्मेवारी वहन गर्दछ। सो विभागमा लिउ जिन्सङ निर्देशक रहेका छन् भने काओसहित चार जना उपनिर्देशक छन्।

हालैको कपुरको नेपाल भ्रमणका क्रममा भएका विभिन्न भेटघाट तथा अवलोकनमा तिब्बतीहरूको विषय निस्किएपछि त्यसप्रति चीन थप चिन्तित देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button