अमेरिकाले चिकित्सीय गाँजा पहुँच सहज बनाउने निर्णय, पुनः वर्गीकरण गर्दै ‘अनुसूची १’ बाट हटायो

वासिङ्टन डी.सी. — संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने निर्णय बिहीबार गरेको छ। औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान सुनिश्चित गर्दै यसलाई चिकित्सकीय प्रयोजनका लागि सहज पहुँच दिने अमेरिकी न्याय विभागले जनाएको छ।
कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले भने, ‘गाँजालाई मध्यमदेखि कम लत लाग्ने सम्भावना भएको लागु औषधको रूपमा पुनः वर्गीकृत गरिएको छ। यसले बिरामीहरूको उपचारमा पहुँच विस्तार गर्न र चिकित्सकहरूलाई राम्रो सूचित स्वास्थ्य सेवा निर्णयहरू गर्न सशक्त बनाउन सहयोग पुग्ने अनुसन्धानले देखाएको छ।’
अमेरिकी औषधि प्रवर्तन एजेन्सी (डीइए) का अनुसार गाँजालाई पहिले ‘अनुसूची १’ को रूपमा वर्गीकृत गरिएको थियो — ‘हाल स्वीकृत चिकित्सा प्रयोग र दुरुपयोगको लागि उच्च सम्भावना’ भएको लागुऔषधको श्रेणी जसमा हेरोइन र मेथाम्फेटामाइन समावेश छन्। अब यसलाई पाँच तहको औषधीय अनुसूचीको तेस्रो तह (अनुसूची ३) मा सारिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको डिसेम्बरमा उपचारका लागि गाँजाको औषधीय गुणको अनुसन्धानलाई अघि बढाउने कार्यकारी आदेशलाई पछ्याउँदै यो निर्णय गरिएको न्याय विभागले बिहीबार जनाएको छ।





