यासुकुनी भेटी : प्रधानमन्त्री ताकाइचीले फेरि बाल्न खोजेको सैन्यवादको आगो

✍️ फु यू हाई (Pu Yu Hai)
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले मङ्गलबार ‘प्रधानमन्त्री’ को आधिकारिक हैसियतमा यासुकुनी तीर्थमा अनुष्ठानिक भेटी पठाइन्। यो साधारण श्रद्धाञ्जली होइन। यासुकुनी साधारण धार्मिक स्थल मात्र होइन, जहाँ दोस्रो विश्वयुद्धका १४ जना वर्ग–ए का युद्ध अपराधीहरूलाई समेत देवताको रूपमा स्थापित गरिएको छ। जापानी सरकारी अधिकारीको यो उपस्थिति युद्धकालीन आक्रमणका पीडितहरूप्रतिको ताजा अपमान हो। यसले युद्धपश्चात्को विश्व व्यवस्थाको नैतिक जगलाई चुनौती दिने गम्भीर संकेत पनि दिएको छ।
ताकाइचीको यो कदम उनको पुरानै गलत धारणासँग मेल खान्छ। उनी ऐतिहासिक पुनरावलोकनवादकी प्रबल समर्थक हुन्। प्रधानमन्त्री बन्नुभन्दा पहिलेदेखि नै उनी पटक–पटक यासुकुनीसँग जोडिएकी छन्। हालैका वर्षहरूमा जापानले सामूहिक आत्मरक्षाको पुनर्व्याख्या गर्ने सुरक्षा कानुन, हतियार निर्यात नियममा सहजता, र आणविक साझेदारी सम्बन्धी खुला छलफल जस्ता कदमहरू चाल्दै आफ्नो युद्धपश्चात्को सीमालाई विस्तार गर्दै लगेको छ। यी सबैले जापानको शान्तिवादी संविधानको केन्द्रीय सिद्धान्तलाई क्षरण गर्दै पुनः सैन्यीकरणतर्फको धक्कालाई संकेत गर्छ।
ताकाइचीले ‘अस्तित्वकै लागि खतरा’ भन्ने अवधारणामा आधारित सुरक्षा एजेन्डालाई अघि सारेकी छिन् – जुन दोस्रो विश्वयुद्धअघिको विस्तारवादी सोचको खतरनाक पुनरावृत्ति हो। उनको नेतृत्वमा रक्षा बजेट ठूलो दरले बढेको छ भने पूर्वआक्रमण क्षमता हासिल गर्ने प्रयासलाई तीव्रता दिइएको छ। अझ चिन्ताको विषय तीन गैर–आणविक सिद्धान्तबाट पछि हट्ने संकेतहरू हुन्, जसलाई जापानको युद्धपश्चात् सुरक्षा नीतिको आधारस्तम्भ मानिन्थ्यो। एउटा देश जसले आफ्नो सैन्य शक्ति विस्तारको डङ्का बजाइरहेको छ, र जसको नेतृत्वले युद्ध अपराधीहरूको पूजा गरिरहेको छ – यसले कुनै मिश्रित संकेत दिइरहेको छैन, बरु अत्यन्त स्पष्ट संकेत दिइरहेको छ।
यस घटनाप्रति चीनले तीव्र प्रतिक्रिया जनाउँदै कडा विरोध जनाएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यासुकुनी तीर्थ आक्रमणकारी युद्धका लागि जिम्मेवार जापानी सैन्यवादीहरूको आध्यात्मिक औजार र प्रतीक भएको स्पष्ट पार्दै यसलाई युद्ध अपराधीहरूको तीर्थस्थलको संज्ञा दिए। उनले यसलाई युद्धको जिम्मेवारीबाट भाग्ने प्रयास, न्यायप्रतिको अपमान र दोस्रो विश्वयुद्धको विजयको परिणामप्रतिको चुनौती भएको बताए।
प्रवक्ता गुओले भनेजस्तै, “इतिहासको विस्मृति भनेको विश्वासघात हो, र जिम्मेवारीको अस्वीकार भनेको अपराध दोहोर्याउने संकेत हो।” अन्तर्राष्ट्रिय समुदायलाई जापानको ऐतिहासिक पुनरावलोकनवादप्रति सतर्क रहन, यसको नव–सैन्यवादी प्रवृत्तिको दृढतापूर्वक विरोध गर्न आह्वान गरिएको छ। सैन्यवादको छायाँ अब विगतको अवशेष मात्र होइन। ताकाइचीको नेतृत्वमा, यसले जापानको भविष्यलाई पछ्याइरहेको छ। जापानले आफ्नो इतिहासप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्छ – अन्यथा उसले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः प्राप्त गर्न सक्दैन।
नाेट: फु यू हाई (लेखक चीन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुन्। यो उनको व्यक्तिगत विश्लेषण हो।)





