‘म’ हरूको सरुवा : सिंहदरबारबाट बाहिरिएका सहसचिव र दीपक भट्ट जोडिएको शंकाको घेरा

सरकारले विवादास्पद र शंकास्पद भूमिका तथा गतिविधि देखिएको भन्दै केही सहसचिवहरूलाई सिंहदरबारबाट उपत्यका बाहिर सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरुवामा नाम ‘म’ बाट सुरु हुने सहसचिवहरू महेश दाहाल, महेश भट्टराई र महेश बराल समेत परेका छन्। यस्तै, नारायण मैनालीलाई पनि सरुवा गरिएको छ।
हाल हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र उनका अंशियार तथा व्यापारिक साझेदार शंकर ग्रुपका शुलभ अग्रवालका बाबुछोरालाई वर्षौंदेखि अनियमित कारोबारमा प्रशासनिक सहयोग गर्दै आएको आरोप लागेका कर्मचारीहरू यसरी सरुवामा परेको बुझिएको छ। भट्ट र अग्रवालको व्यवसाय विस्तारमा पूर्वसचिव, केही बहालवाला सचिव, सहसचिव र केही उपसचिवको अस्वाभाविक सम्बन्ध रहेको भन्दै उनीहरूमाथिसमेत अनुसन्धान गर्नैपर्ने दबाब बढेको छ।
स्रोतका अनुसार सहसचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका पूर्वमहानिर्देशक महेश भट्टराई र धितोपत्र बोर्डका पूर्वअध्यक्ष महेश बराललगायतमाथि कर्मचारी साथीहरूले नै उजुरी गरेका छन्। मदन दाहाल २०८१ मंसिरमा शरद ओझालाई कार्यकारी अध्यक्षमा नियुक्त गरिनुअघि बीमा प्राधिकरणको अध्यक्ष थिए।
महेश बराल अर्थ मन्त्रालयबाट धितोपत्र बोर्ड सञ्चालक समितिमा प्रतिनिधि र पछि बोर्ड अध्यक्षसम्म भएका थिए। उनी बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेकै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकसमेत थिए। उनी २०८१ फागुन १ देखि गत भदौ १ सम्म धितोपत्र बोर्डको अध्यक्ष रहेका थिए।
यसैगरी, तत्कालीन राजस्व सचिव दिनेश घिमिरे पनि भट्टको सहयोगी रहेको र उनलाई सहसचिव हुँदा बैठकका सूचना तुरुन्त दीपक भट्टकहाँ पुर्याउन मन्त्रिपरिषद्को प्रस्ताव स्क्रिनिङ गर्ने जिम्मेवारीमा खटाइएको आरोप लागेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरुवा हुनेमध्ये अधिकांशलाई प्रदेशमा पठाइएको छ। यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले दीपक भट्टहरूको बीमा ठगीसम्बन्धी अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयलाई बुझाइसकेका छन् र उनी अर्थ मन्त्रालय फर्किएका छन्।





