११ बैशाख २०८३, शुक्रबार

उज्यालो पार्टीमा खटपट : केन्द्रीय सदस्य लाक्पा फुटी शेर्पाद्वारा पार्टी परित्याग, अरू पनि राजीनामाको तयारीमा

काठमाडौं — कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालकी केन्द्रीय सदस्य लाक्पा फुटी शेर्पाले राजीनामा दिएकी छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी हुन्। व्यक्तिगत कार्यव्यस्तताका कारण पार्टीको जिम्मेवारीमा रहिरहन आफूलाई असहज भएको उनले बताएकी छन्।

पार्टी अध्यक्ष कुलमान घिसिङलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो व्यक्तिगत कार्यव्यस्तताका कारण अब उप्रान्त यस पार्टीको जिम्मेवारीमा रहिरहन मलाई असहज भएको छ। अतः आजकै मितिदेखि लागू हुने गरी म उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यसमेत नरहने गरी आफ्नो पदबाट राजीनामा पेश गर्दछु।’

उनले अब स्वतन्त्र रहने बताउँदै समाजसेवा र देशको समुन्नतिमा लागिरहने प्रतिबद्धता जनाएकी छन्। राजीनामा पत्रमा भनिएको छ, ‘पार्टीबाट अलग भए पनि एक स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवा र देशको समुन्नतिका लागि मेरो प्रतिबद्धता सधैं कायम रहने जानकारी गराउन चाहन्छु।’

यद्यपि, पार्टी स्रोतका अनुसार शेर्पाले कार्यव्यस्तता नभई अध्यक्ष घिसिङको हठका कारण राजीनामा दिएकी हुन्। स्रोतले भन्यो, ‘संस्थापक केन्द्रीय सदस्यबाट पार्टी सचिवालय गठन र अध्यक्षको एकलौटी हठको पराकाष्ठाले पार्टी परित्याग गर्नेहरू बढ्दै गएका छन्। अन्य पनि राजीनामा दिने तयारीमा छन्।’

यसबारे सोधिएको प्रश्नमा सदस्य शेर्पाले भने आफ्नो राजीनामाको कारण कार्यव्यस्तता मात्रै भएको बताइन्। उनले जनआस्थासँग भनिन्, ‘मैले कार्यव्यस्तताका कारण राजीनामा दिएकी हुँ। अरू केही पनि होइन। पार्टीमा सबैको आ-आफ्नो धारणा त भइहाल्छ नि।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button