पाङबोचे गुम्बा पुनर्निर्माण सम्पन्न : अमेरिकी सहयोगमा सांस्कृतिक सम्पदाको जगेर्ना, पर्यटन र रोजगारीमा टेवा

खुम्बु — अमेरिकी दूतावास नेपालको आर्थिक सहयोगमा खुम्बु क्षेत्रको पुरानो र ऐतिहासिक पाङबोचे गुम्बाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भएको छ। शेर्पा बौद्ध सम्पदा र सामुदायिक जीवनको केन्द्र मानिने यस गुम्बाको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा सहभागी हुन अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर पाङबोचे पुगेका थिए।



अमेरिकी दूतावासको आर्थिक सहयोगमा सम्पन्न यो पुनर्निर्माण परियोजनाले गुम्बाको परम्परागत डिजाइन र मौलिकतालाई जोगाउँदै संरचनालाई थप सुदृढ बनाएको छ। पाङबोचे गुम्बा व्यवस्थापन समितिको नेतृत्वमा भएको यस कार्यमा खुम्बु पासाङ ल्हामु गाउँपालिका र पासाङ ल्हामु फाउन्डेसनको निकट साझेदारी रहेको थियो। गुम्बाको संरक्षण र भावी पुस्ताका लागि यसलाई जोगाइराख्ने जिम्मेवारी स्थानीय समुदायकै नेतृत्वमा रहने बताइएको छ।


यो परियोजना सम्पदा संरक्षणमा मात्र सीमित नभई यसले स्थानीय स्तरमा रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र सांस्कृतिक परम्पराको निरन्तरतामा समेत सहयोग पुर्याएको छ। दूतावासका अनुसार यसले सांस्कृतिक सम्पदाको माध्यमबाट समुदायलाई सबल बनाउने कार्यमा संयुक्त राज्य अमेरिका र नेपालबीचको स्थायी साझेदारीलाई पनि झल्काउँछ।





