श्रमिकको गुनासो अब चौबीसै घण्टा सुन्ने : त्रिभुवन विमानस्थलमा श्रम सहायता कक्ष तीन सिफ्टमा सञ्चालन

काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबीसै घण्टा सञ्चालनमा ल्याएको छ।
वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहयोग गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन हुँदै आएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर गत मंगलबारदेखि चौबीसै घण्टा सञ्चालनमा ल्याइएको हो। श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) को सहकार्यमा ११ जना कर्मचारीमार्फत श्रम सहायता कक्ष चलाइएको छ।
श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्रीस्तरीय निर्णयबाट सहायता कक्षलाई थप व्यवस्थित गरी सञ्चालन गरिएको जानकारी दिए। उनले भने, ‘कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिऊन् भनेर जानकारी दिने उद्देश्यले सहायता कक्ष चौबीसै घण्टा सञ्चालनमा ल्याइएको हो।’
प्रवक्ता घिमिरेका अनुसार मन्त्रालय, विभाग र बोर्डबाट खटिएका कर्मचारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज रूपमा विदेश प्रस्थान गर्ने वातावरण बनाउने काम गर्दै आएका छन्। विदेशमा समस्या परेमा सहयोग लिन सम्बन्धित दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत जानकारी गराइने व्यवस्था छ।
यता, गोरखापत्र अनलाइनका अनुसार वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले श्रम सहायता कक्षमा नयाँ जानेभन्दा पनि यसअघि वैदेशिक रोजगारीमा गई फर्केर आएपछि पुनः जान लागेकाहरूले बढी चासो राख्ने गरेको जानकारी दिएका छन्।





