११ बैशाख २०८३, शुक्रबार

सिक्किम नगर निकाय चुनाव : मतदातालाई निःशुल्क सवारी, तीनवटै केन्द्रमा स्वास्थ्य टोली र ह्वीलचेयरको प्रबन्ध

गान्तोक — सिक्किम राज्य निर्वाचन आयोगको निर्देशनमा यही वैशाख ११ गते हुने गान्तोक नगर निगमको १० नम्बर वडा (डिजेल पावर हाउस) को नगरपालिका चुनावका लागि मतदातालाई केन्द्रसम्म पुर्याउन ‘निर्वाचन विशेष ट्याक्सी’ को व्यवस्था गरिएको छ।

आयोगको निर्देशनमा यातायात विभागले स्थानीय ट्याक्सी चालक सङ्घको सहयोगमा गरेको यो व्यवस्थाअन्तर्गत पाँचवटा स्थानीय ट्याक्सी र दुईवटा सिटी रनर गरी सात सवारी साधन तोकिएका छन्। यी सवारी देउराली, बोझोगहरी र इन्दिरा बाइपास ट्याक्सी स्ट्यान्डमा उपलब्ध हुने आयोगले जानकारी दिएको छ।

यसैगरी, आयोगले बुधबार मतदान स्थल पाल्जोर नाम्ग्याल गर्ल्स सिनियर सेकेन्डरी स्कुलका तीनवटै मतदान केन्द्रको स्थलगत निरीक्षण गरी खानेपानी, चलानी पानीसहितको शौचालय, वर्षा रोक्ने क्यानोपी र चिकित्सीय सहायताजस्ता आधारभूत सुविधाको प्रबन्धको जाँच गरेको थियो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागले आयोगको निर्देशनअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अशक्त मतदाताका लागि कर्मचारी र ह्वीलचेयरको व्यवस्था गरेको छ। त्यस्तै, स्वास्थ्य तथा परिवार कल्याण विभागले मोबाइल एम्बुलेन्ससहितको चिकित्सक टोली तयारी अवस्थामा राखेको छ।

भारतीय संविधानको धारा २४३(जेडए) अन्तर्गत नगरपालिका चुनावको सुपरिवेक्षण, निर्देशन, नियन्त्रण र सञ्चालनको जिम्मा पाएको सिक्किम राज्य निर्वाचन आयोगले चुनावी प्रक्रियामा सुशासन सुनिश्चित गर्न यी सबै पहल गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button