कपुरपछि अब सर्जियो : ट्रम्पका विश्वासपात्र सहित चार दिनमा नेपालमा अमेरिकी दूतको लर्को, प्रधानमन्त्री भेट्ने सम्भावना

काठमाडौं — दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्रमध्ये एक मानिने गोर भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने कार्यक्रम छ। उनी नेपालमा चार दिन बस्ने बताइएको छ।
राजदूत गोरको नेपाल भ्रमणको सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन्। दुईबीचको भेटमा राजदूत गोरको नेपाल भ्रमणका विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ।
नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटघाट गर्ने बताइएको छ। स्रोतका अनुसार गोरले बालेनसँग जेठ १ गते भेट्ने कार्यतालिका रहेको छ। तर, प्रधानमन्त्री कार्यालयले भने हालसम्म भेट हुने वा नहुनेबारे निश्चित गरिसकेको छैन। प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री बालेनले भारतमा रहेको अमेरिकी राजदूतसँग भेट्ने कुनै कार्यक्रम तय भएको छैन, उक्त विषयमा हालसम्म कुनै जानकारी पनि आएको छैन।’
यसअघि केही दिन पहिले नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री एस. पावल कपुरले पनि प्रधानमन्त्री बालेनसँग भेट्ने सोच बनाएका थिए। तर, प्रधानमन्त्री कार्यालयबाट समय उपलब्ध नगराएपछि भेट हुन सकेको थिएन। यद्यपि, ओहदामा कपुरभन्दा माथि रहेका कारण गोरसँग बालेनको भेटघाट हुने सम्भावना रहेको बताइएको छ। सहायक विदेशमन्त्री कपुर वैशाख ७ गते नेपाल आएर ९ गते फर्किएका थिए। उनले आफ्नो भ्रमणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए।
अमेरिकाले नेपालका लागि राजदूत डिन थम्पसनलाई फिर्ता बोलाएपछि राजदूत गोरले भारतबाटै नेपाल मामिला हेर्दै आएका छन्। नेपालमा चार महिनादेखि अमेरिकी राजदूत छैनन्। कार्यवाहक राजदूतका रूपमा स्कट उर्बोम रहे पनि नेपालका हरेक मामिला भारतस्थित अमेरिकी राजदूत गोरले नै हेर्दै आएका छन्। एक कूटनीतिज्ञले भने, ‘राजदूत गोरले नेपाल हेरेका कारण पनि उनी आउन लागेका हुन्, यो कुनै ठूलो कुरा होइन। कपुर भ्रमणमा आएकै बेला पनि गोर आउँदा हुन्थ्यो तर कपुरभन्दा गोर सिनियर भएकाले त्यतिबेला नआएको हुन सक्छ, अहिले आउन लागेका छन्।’
राष्ट्रपति ट्रम्पको सचिवालयमा काम गरिसकेका गोरको भ्रमण एउटा राजदूतको रूपमा मात्र नभई ट्रम्पको दूतको हैसियतमा हुन लागेको जानकारहरू बताउँछन्। नेपालको भूराजनीतिक मामिलाका एक जानकारले भने, ‘यो कपुरको जस्तो भ्रमण होइन, उहाँको भ्रमणले धेरै कुराको निर्धारण हुन्छ।’





