किष्ट बैंक घोटाला : फरार प्रतिवादी रोहितलाल श्रेष्ठ महाराजगञ्जबाट पक्राउ, कैद र जरिवानाको फैसला कार्यान्वयनमा

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक घोटाला प्रकरणमा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। बैंकिङ कसूरसम्बन्धी उक्त मुद्दामा तत्कालीन किष्ट बैंकको ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रही टेलर हेडको जिम्मेवारी सम्हाल्दै आएका तारकेश्वर नगरपालिका–१, साङ्लाका ४८ वर्षीय रोहितलाल श्रेष्ठ पक्राउ परेका हुन्।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले श्रेष्ठलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका उनलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–३, महाराजगञ्जबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार तत्कालीन किष्ट बैंकका कर्मचारीहरूले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्याएर हानि नोक्सानी पुर्याएको प्रकरणमा श्रेष्ठको संलग्नता पुष्टि भएको थियो। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।





