‘बाढीको बहाना होइन, स्थायी बसोबास चाहिन्छ’ : सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेनको प्रष्टोक्ति

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौंका नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीहरूको स्थानान्तरणबारे शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यसलाई वर्षौंदेखिको जोखिमपूर्ण अवस्थाको अन्त्य गर्ने कदम भन्दै बल प्रयोग नगरी मानवीय रूपमा व्यवस्थापन गरिने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौंका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!’ उनले यो वर्षौंदेखिको समस्या र हरेक वर्ष दोहोरिने नियति भएको उल्लेख गर्दै यसलाई अब आउने वर्षका लागि थाती नराखी सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिए।





प्रधानमन्त्री शाहले प्रश्न गरेका छन्, ‘सोच्नुहोस् त, अब पनि कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैं गरिरहने?’ उनले जोखिमरहित व्यवस्थापन नै सुकुम्बासीहरूको अधिकार भएको बताए।
उनले नदी किनारका बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यकाका नदीखोला दुर्गन्धित भइरहेको सन्दर्भ उल्लेख गर्दै यो स्थानान्तरणले काठमाडौंको ढल निकास प्रणालीलाई सहज बनाउने बताए। उनले थापाथली, गैरीगाउँ र मनोहरा लगायतका स्थानमा रहेकाहरूलाई बल प्रयोग नगरी मानवीयताको ख्याल गर्दै सुरक्षित स्थानान्तरण गर्न लागिएको प्रष्ट पारे।
प्रधानमन्त्री शाहले आफूले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेखित प्रतिबद्धता तथा ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ अन्तर्गतका सुकुम्बासी व्यवस्थापन (बुँदा ९१) र सरकारी जग्गा अतिक्रमण रोक्ने (बुँदा ९२) प्रतिबद्धता स्मरण गराए। उनले भने, ‘ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौं।’
उनले काठमाडौंका खोला किनारबाहेक पनि देशभर लाखौं सुकुम्बासी रहेको र तिनको समस्या भिन्न रहेको उल्लेख गर्दै भने, ‘हामी सरकारमा छौं; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं।’ उनले वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्ने विश्वास दिलाए। ‘ढुक्क हुनुहोस्,’ प्रधानमन्त्री शाहले पोस्टको अन्त्यमा भनेका छन्।





