न्याय क्षेत्रमा डिजिटल सहकार्य : चिनियाँ राजदूत र कानुन मन्त्री गौतमबीच लगानी र पर्यटन विस्तारमा जोड

काठमाडौं — कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटघाट गरेका छन्। भेटका क्रममा राजदूत झाङले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरे।
भेटवार्ताका क्रममा मन्त्री गौतमले नेपाल सरकारले सुशासन, तीव्र सामाजिक तथा आर्थिक विकास, डिजिटल रूपान्तरण र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराइन्।
यसैगरी, नेपाल र चीनबीचको ऐतिहासिक मित्रता तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानुन र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो। विशेष गरी न्यायमा सहज पहुँच सुनिश्चित गर्न डिजिटल रूपान्तरण, ज्ञान आदानप्रदान तथा विधिको शासन सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने समझदारी बनेको जनाइएको छ।





