‘पञ्चायतले पनि नगरेको काम यो सरकारले गर्यो’ : सुकुम्बासी हटाउने कदमलाई क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा ‘फाँसीवाद’ को आरोप

काठमाडौं — सुकुम्बासी बस्ती खाली गर्ने सरकारी कदमको चौतर्फी विरोध भइरहँदा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले पनि कडा प्रतिक्रिया जनाएको छ।
पार्टी नेता सीपी गजुरेलले पञ्चायती शासकले समेत भूमिहीनहरूलाई बलपूर्वक हटाउने आँट नगरेको भन्दै वर्तमान सरकारको कदम फाँसीवादतर्फ उन्मुख रहेको बताए। सुकुम्बासी बस्तीमा डोजर चलाउने र विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने जस्ता कार्य पञ्चायती व्यवस्थामा पनि नभएको उनको भनाइ छ।
‘परिस्थिति बदलिएको छ। सरकारले फाँसीवाद लागू गर्दै गइराखेको छ। सरकार बनेको एक महिना पुगेको छैन, सुकुम्बासीलाई त्यहाँबाट हटाउन डोजर लगाउने भनेर आज सुनियो,’ गजुरेलले भने, ‘अब यो त फाँसीवादको प्रयोग गर्ने हो नि। विद्यार्थीहरूले सङ्गठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो। पञ्चायती व्यवस्थामा पनि त्यो थिएन।’
दलहरूलाई प्रतिबन्ध लगाइएको पञ्चायतकालमा समेत विद्यार्थीहरू सङ्गठित हुन पाएको स्मरण गर्दै उनले अहिलेको सरकार झनै निरङ्कुश देखिएको बताए। ‘निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरूले चुनाव लड्न पाउँथे, अरू अधिकार पनि पाउँथे,’ उनले भने, ‘यसले त पञ्चायतले जति अधिकार पनि दिएन।’
गजुरेलले मुलुकलाई सङ्कटबाट जोगाउन सबै क्रान्तिकारी र देशभक्त शक्तिहरूलाई सहकार्य गर्न आह्वानसमेत गरेका छन्।





