रुसको एक सातामा युक्रेनमाथि छ समूहगत आक्रमण, १९३ युद्धबन्दीको साटासाट

मस्को — रुसी रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको साप्ताहिक विवरणअनुसार युक्रेनले रुसको नागरिक क्षेत्रमा गरेको आतङ्कवादी आक्रमणको जवाफमा रुसी सेनाले गत साता छ वटा समूहगत आक्रमण गरेको छ।
यसैबीच, रुस र युक्रेनबीच भएको युद्धबन्दी साटासाट अन्तर्गत १९३ रुसी सैनिक युक्रेनी नियन्त्रणबाट स्वदेश फर्काइएका छन् भने सोही सङ्ख्याका युक्रेनी युद्धबन्दी रुसले फिर्ता गरेको छ।
कूटनीतिक मोर्चामा रुसी रक्षामन्त्री आन्द्रेइ बेलोउसोभले रुसको औपचारिक भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग वार्ता गरेका छन्। उक्त भेटवार्तामा दुईपक्षीय सैन्य सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यसैगरी, रुसी रक्षा मन्त्रालयले विस्फोटक पदार्थ निष्क्रियकरण विशेषज्ञ, तोपखाना एकाइ र ड्रोन चालकहरूको कारबाहीको दृश्य सार्वजनिक गरेको छ। केन्द्र समूह अन्तर्गतको ६१ औं गार्ड मरिन ब्रिगेडका स्नाइपरहरूले लडाइँ अभियानपूर्वको तयारीमा कौशलता तिखारिरहेको मन्त्रालयले जनाएको छ।
यता, केन्द्र समूहका सैनिकहरूले क्रास्नोआर्मेस्कमा नागरिकहरूलाई व्यापक मानवीय सहायता प्रदान गर्ने क्रम जारी राखेको रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ।





