थापाथलीमा डोजर चल्यो : पीडितको आक्रोश ‘हिट्लर शैलीमा दमन’

काठमाडौँ — सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती भत्काउन शुरु गरेपछि पीडितहरूले चर्को आक्रोश पोखेका छन्। उनीहरूले बालेन सरकारमाथि सुरक्षाकर्मीको आडमा डोजर लगाउँदै ‘गोदी मिडिया’ शैलीमा बस्ती उठाएको र आफूहरूलाई नै परिचालितको आरोप लगाएको गुनासो गरेका छन्।
एक जना पीडितले टेलिफोन कुराकानीमा भने, ‘दलाल, परिचालित भन्दै दमन गरियो। हिट्लर शैली अपनाइयो। डोजर लगाइसक्यो, हामीले केही गर्न सकेनौं।’ बस्ती भत्काइएका सुकुम्बासीहरू अहिले अन्योलमा छन्। उनीहरूले आफूहरूलाई कुनै वैकल्पिक बासस्थानको व्यवस्था नगरी बल प्रयोग गरेर हटाइएको बताएका छन्।
यता, कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारको गम्भीर पक्ष औंल्याउँदै सुकुम्बासीहरूको उचित र दीर्घकालीन व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टीले विज्ञप्ति जारी गरी शान्तिपूर्ण र संवैधानिक समाधानको बाटो खोज्न सरकारको ध्यानाकर्षण गराएको छ। यसैबीच, सरकारी पक्षले भने अतिक्रमित जग्गा खाली गराउनु आफ्नो दायित्व रहेको र कानुनी प्रक्रिया अपनाइएको बताउँदै आएको छ। तर विस्थापितको पुनर्वासका लागि अहिलेसम्म कुनै ठोस योजना सार्वजनिक भएको छैन।





