१२ बैशाख २०८३, शनिबार

‘भूकम्प रोक्न सकिन्न, जोखिमबाट जोगिन सकिन्छ’ : स्मृति दिवसमा राष्ट्रपति पौडेलको सन्देश— सुरक्षित निर्माण र जनचेतनामा जोड

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

दसौं भूकम्प स्मृति दिवसका अवसरमा शनिबार सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले आम नागरिकमा सचेतना अभिवृद्धि गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए। उनले गोरखाको बारपाक केन्द्रबिन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा ज्यान गुमाउनेहरूप्रति श्रद्धासुमन अर्पण गरे।

राष्ट्रपति पौडेलले सन्देशमा भने, ‘भूकम्प एक प्राकृतिक विपत् हो। प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढ्दै गएको छ। भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ।’

नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेको उल्लेख गर्दै उनले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागिरहनुपर्नेमा जोड दिए। नवनिर्मित तथा पुनर्निर्मित भौतिक संरचनामा नेपाली मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग हुनुपर्ने बताए।

उनले भूकम्पबाट ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button