‘सरकारको अभियानमा महानगरको साथ’ : कार्यवाहक मेयर डंगोलले भनिन्— मानवीय व्यवहार र विशेष ख्यालका साथ संरचना हटाइँदै

काठमाडौं — काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न थालेको काममा महानगरको सहयोग रहने बताएकी छन्।
सामाजिक सञ्जालमा शनिबार सन्देश लेख्दै उनले सरकारले थालेको अभियानमा समन्वय र सहयोग गर्न महानगर तयार रहेको जानकारी दिइन्। उनका अनुसार वैशाख ११ गते काठमाडौं महानगरपालिकाका नगर कार्यपालिका सदस्यहरूबीच छलफल भएको थियो, जसमा कानुन र न्याय प्रतिकूल नहुने गरी काम गर्न महानगरको अधिकतम प्रयास र सहयोग रहने निष्कर्ष निकालिएको थियो।
‘यो कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला सबै निकाय, पदाधिकारी र सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनिन्।
कार्यवाहक मेयर डंगोलले महानगरपालिकाले सार्वजनिक, पर्ती, ऐलानी, सरकारी तथा सामुदायिक जग्गा र अरूको निजी स्वामित्वको जग्गा संरक्षण गर्ने कार्य गर्दा मानव अधिकारको न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गर्दै काम गर्दै आएको बताइन्।
उनले भनिन्, ‘सरकारले गरेको निर्णय तथा पहलकदमीमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदी किनार तथा अन्य सार्वजनिक स्थानको संरक्षण गर्ने कार्यमा अनधिकृत संरचना हटाउने कार्य गर्न सम्बद्ध मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय तथा अनुरोध बमोजिमको कार्यमा सहयोगी भूमिका निर्वाह गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसको विशेष ख्याल राख्ने, सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गरिरहेको छ।’





