चर्नोबिल त्रासदीको ४० वर्ष : संयुक्त राष्ट्रमा आणविक शान्तिपूर्ण प्रयोगको आह्वान

संयुक्त राष्ट्र मुख्यालय — संसारले चर्नोबिल विपद्को ४० वर्ष पूरा गरिरहेको अवसरमा संयुक्त राष्ट्र महासभाले आणविक शक्तिको शान्तिपूर्ण प्रयोग गर्न आह्वान गरेको छ। एक विशेष स्मरण समारोहमा महासभाकी अध्यक्ष आनालेना बेर्बकले चर्नोबिलको घटनाले शान्तिपूर्ण रूपमा प्रयोग गर्दा समेत आणविक प्रविधि अन्य प्रविधिभन्दा मौलिक रूपमा भिन्न रहेको सन्देश दिएको बताइन्।
सन् १९८६ को अप्रिल २६ मा चर्नोबिल आणविक उर्जा केन्द्रको नम्बर चार रिएक्टरमा भएको विस्फोटले इतिहासकै सबैभन्दा भयावह आणविक दुर्घटना निम्त्याएको थियो। त्यसबाट निस्किएको विकिरणले युक्रेन, बेलारुस र युरोपका अन्य भागहरूमा व्यापक प्रदूषण फैलाएको थियो।
बेर्बकका अनुसार आठ करोडभन्दा बढी मानिस विकिरणको सम्पर्कमा आए, हजारौंको मृत्यु भयो र बालबालिकामा लुकेमिया तथा अन्य रोगहरू देखा परे। धेरैलाई दीर्घकालीन स्वास्थ्य सेवा आवश्यक पर्यो जसले उनीहरूको सम्पूर्ण जीवन प्रभावित बनायो।
उनले भनिन्, ‘चर्नोबिलको ४० वर्ष पूरा गर्दै गर्दा, हामी जिम्मेवारीका साथ सम्झनुपर्छ कि आणविक प्रविधि अन्तर्राष्ट्रिय सुरक्षा संरक्षण, अन्तर्राष्ट्रिय कानुनको अनुपालन र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको सहकार्यमा कडा रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरियोस्, ताकि चर्नोबिलजस्ता विपद् पुनः नहोस्।’
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘इतिहासकै सबैभन्दा महत्त्वपूर्ण आणविक दुर्घटना’ भन्दै सुरक्षाकर्मी र बहुराष्ट्रिय दीर्घकालीन पुनर्स्थापनालाई स्मरण गर्दै ‘यस त्रासदीले मानवीय आत्माको सर्वश्रेष्ठ पक्ष पनि उजागर गरेको’ बताए। उनले चर्नोबिल कहिल्यै केवल राष्ट्रिय त्रासदी मात्र नभई ‘आणविक दुर्घटनाको परिणाम अन्तर्राष्ट्रिय समुदायले साझा गर्नुपर्ने’ सिकाइ भएको उल्लेख गर्दै आणविक ऊर्जामा सुरक्षाको संस्कृति निर्माण गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए।
संयुक्त राष्ट्रमा रुसको उपस्थायी प्रतिनिधि दिमित्री चुमाकोभले पनि यो दुर्घटनाले एउटा महत्त्वपूर्ण पाठ दिएको बताए। ‘मानिसहरू गल्ती गर्न सक्छन्,’ उनले भने, ‘कुनै पनि प्रविधि, चाहे जति असल इरादाका साथ किन नबनाइएको होस्, उचित सतर्कता बिना खतराको स्रोत बन्न सक्छ।’





