गैरीगाउँ सुकुम्बासी बस्तीमा डोजर : पक्की संरचना भत्काइयो, तीन निकायको संयुक्त टोली परिचालन
काठमाडौं — सरकारको निर्देशनमा काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती शनिबार हटाइएको छ। अतिक्रमित संरचना तथा बस्ती हटाउने अभियान अन्तर्गत उक्त बस्तीमा डोजर चलाएर संरचना भत्काइएको हो।
थापाथली क्षेत्रको तुलनामा गैरीगाउँमा पक्की संरचना निर्माण भएको पाइएको छ। बस्ती हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार बस्ती खाली गराउने क्रममा कुनै अवरोध नभएको बताइएको छ। यद्यपि, सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको थियो। यो अभियानलाई सरकारले क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गर्ने जनाइएको छ।





