हिरासतमा युवकको मृत्यु : माइतीघरमा आक्रोश प्रदर्शन, ‘झुटो मुद्दा र हत्या’ को आरोप, निष्पक्ष छानबिनको माग

काठमाडौं — सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको गत ७ वैशाखमा प्रहरी हिरासतमा मृत्यु भएको थियो। उक्त घटनापछि संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरूसमेत सहभागी भए।
प्रदर्शनकारीहरूले ‘प्रहरी हिरासतमा मारिएका श्रीकृष्ण विकलाई न्याय दे’ लगायतका प्लेकार्ड प्रदर्शन गर्दै दलित समुदायमाथि भइरहेका छुवाछूत, विभेद, बहिष्कार र दमनको अन्त्य गर्न माग गरे।
श्रीकृष्ण विक खोटाङकी एक बालिकासँगको अन्तरजातीय प्रेम विवाहपछि उत्पन्न विवादका क्रममा बलात्कारको मुद्दामा पक्राउ परेका थिए। उनीमाथि झुटो मुद्दा लगाइएको भन्दै परिवार र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष न्यायिक छानबिनको माग गर्दै आन्दोलन जारी राखेका छन्।





