१२ बैशाख २०८३, शनिबार

लमजुङमा ८७ मिलिमिटर वर्षा, तातो लहर घट्ने

काठमाडौँ — मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार पछिल्लो १२ घण्टाको अवधिमा लमजुङ, रोल्पा, प्यूठान र काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन गरिएको छ।

सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने प्यूठानमा ७४.६, रोल्पामा ६५.२ र काभ्रेपलाञ्चोकमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको विभागले जनाएको छ। त्यस्तै, कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ।

विभागकी मौसमविद् विनु महर्जनका अनुसार आजदेखि नै देशका धेरै क्षेत्रमा वर्षा हुन थालेकाले तातो लहर क्रमशः घट्दै जानेछ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने तातो दिनको सम्भावना कायमै रहेको विभागले बुलेटिन जारी गर्दै जनाएको छ। वर्षासँगै अहिले केही राहत भए पनि बाढी, पहिरो र डुबानको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button