चीन–भारत भेटवार्ता : ब्रिक्स मार्फत मध्यपूर्व शान्तिका लागि सहकार्य गर्ने सहमति

नयाँ दिल्ली, १७ असोज (अक्टोबर २) । चीन र भारत, दुई ठूला विकासशील राष्ट्रबीच अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा निरन्तर समन्वय हुँदै आएको छ । मध्यपूर्व शान्तिका लागि चिनियाँ सरकारको विशेष दूत झाइ जुनले बिहीबार नयाँ दिल्लीमा भारतीय परराष्ट्र मन्त्रालयकी दक्षिण एसिया सचिव नीना मल्होत्रासँग भेटवार्ता गरेका छन् ।
चिनियाँ परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार, सो भेटमा झाइले ब्रिक्स मञ्चको कार्यकारी अध्यक्षको भूमिकामा भारतले पु¥याइरहेको योगदानको प्रशंसा गर्दै मध्यपूर्व मामिलामा ब्रिक्सको छलफलले क्षेत्रीय परिस्थितिबारे सशक्त सन्देश दिने र शान्ति तथा स्थायित्वमा रचनात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भेटमा चीनका लागि भारतीय राजदूत सु फेइहोङ पनि सहभागी रहेका थिए । दुवै पक्षले ब्रिक्सको संरचनाभित्रको सहकार्यलाई सुदृढ बनाउने विषयमा विचार विमर्श गरेका छन् ।
भारतीय सचिव मल्होत्राले ब्रिक्स संयन्त्रमा चीनको महत्वपूर्ण भूमिकाप्रति भारतको मूल्याङ्कन रहँदै ब्रिक्ससम्बन्धी कार्यक्रम आयोजनाका लागि चीनले दिएको समर्थनको प्रशंसा गरिन् । उनले क्षेत्रीय तनाव चाँडोभन्दा चाँडो न्यूनीकरण गर्न चीनसहित ब्रिक्स सदस्य राष्ट्रहरूसँग सहकार्य गर्न भारत तयार रहेको बताइन् ।
भेटवार्ताको क्रममा दुवै पक्षले इरान युद्ध र फिलिस्तीनी प्रश्न लगायत विभिन्न अन्तर्राष्ट्रिय मामिलामा पनि आफ्ना धारणा आदान–प्रदान गरेको चिनियाँ मन्त्रालयले जनाएको छ ।





