इरानी मन्त्रीको पाकिस्तान भ्रमण : अमेरिकासँग प्रत्यक्ष वार्ता छैन, पुलको भूमिका पाकिस्तानको
इस्लामावाद — इरानी विदेशमन्त्री सैयद अब्बास आराकचीले पाकिस्तानी राजधानी इस्लामावादको भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष वार्ता नगर्ने भएका छन्। उनले पाकिस्तानी पक्षसँग मात्रै इरान, अमेरिका र इजरायलबीचको युद्ध अन्त्यका सम्बन्धमा छलफल गर्ने अर्धसरकारी तस्नीम समाचार एजेन्सीले जनाएको छ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले आराकचीको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल शुक्रबार राति इस्लामावाद आइपुगेको पुष्टि गरेको छ। इरानको सरकारी टेलिभिजन आइआइआरबीले आराकचीसँग अमेरिकीहरूसँग भेट्ने योजना नभएको तर इस्लामावादले सञ्चारको पुलको रूपमा इरानका प्रस्तावहरू अमेरिकी पक्षसम्म पुर्याउने जनाएको छ।
४० दिने युद्धपछि अप्रिल ८ मा इरान, अमेरिका र इजरायलबीच युद्धविराम भएको थियो। सोही महिनाको ११ र १२ मा इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच लामो वार्ता भए पनि कुनै सहमति हुन सकेन। यसै साता पाकिस्तानमा अर्को चरणको शान्ति वार्ता हुने चर्चा थियो तर अमेरिकी नौसैनिक नाकाबन्दी र ‘अत्यधिक माग’ रहेको भन्दै इरान वार्ताबाट टाढा रहेको छ।
आराकचीको यो यात्रा ओमान र रुस पुग्ने तालिकासमेत रहेको छ। सामाजिक सञ्जाल ‘एक्स’ मा उनले लेखेका छन्, ‘इस्लामावाद, मस्कट र मस्कोको यो सही समयमा गरिएको भ्रमण हो। द्विपक्षीय मामिला र क्षेत्रीय घटनाक्रमबारे साझेदारहरूसँग सन्तुलित छलफल गर्ने मेरो उद्देश्य छ। छिमेकी हाम्रो प्राथमिकता हुन्।’
अर्कातिर इरानको अर्धसरकारी तस्नीम समाचार एजेन्सीले अमेरिकी सेनासँग समन्वय गरिरहेको शंकामा एउटा जहाज इस्लामिक क्रान्ति गार्ड कोर्प्स (आइआरजीसी) ले कब्जा गरेको जनाएको छ।





