परम्परागत धर्म र अन्तर्राष्ट्रिय संगठनबीच संवाद उच्च तहमा : प्याट्रियार्क किरिल

मस्को — मस्को तथा सम्पूर्ण रुसका प्याट्रियार्क किरिलले अर्थोडक्स इस्टरको अवसरमा आयोजित स्वागत समारोहमा रुसी अर्थोडक्स चर्च र अन्य धार्मिक समुदायबीचको सहकार्य तथा अन्तर्राष्ट्रिय धार्मिक संवादको महत्त्वबारे चर्चा गरेका छन्।
परम्परागत इस्टर भेटघाटले रुसी अर्थोडक्स चर्च, अन्य इसाई समुदाय र परम्परागत अन्य धर्मका प्रतिनिधिहरू बीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्ने प्याट्रियार्क किरिलले बताए।

स्थानीय अर्थोडक्स चर्चहरूसँग भ्रातृ सम्बन्धको विकासलाई आफूहरूले अत्यन्त महत्त्व दिने उल्लेख गर्दै उनले भने, धेरैजसो स्थानीय चर्चहरू मस्को प्याट्रियार्कसँग सुसम्बन्ध कायम राख्न प्रतिबद्ध छन्। गत वर्ष एन्टिओकको ग्रीक अर्थोडक्स प्याट्रियार्क, जेरुसेलम प्याट्रियार्क, जर्जिया प्याट्रियार्क र सर्बियाली प्याट्रियार्क, साथै ग्रीसको चर्च, अमेरिकाको अर्थोडक्स चर्च र म्यासेडोनियाली अर्थोडक्स चर्चका प्रतिनिधिमण्डलले मस्कोको भ्रमण गरेको उनले स्मरण गराए।

अर्थोडक्स चर्चहरूबीचको सम्बन्धमा परीक्षण आइरहेको भन्दै उनले कन्स्टान्टिनोपलको प्याट्रियार्कलाई विशेष अधिकार छ भन्ने सिद्धान्त बाहिरबाट लाद्ने प्रयास भइरहेको आरोप लगाए। यस्तो सोच चर्चको नियम विपरीत र पापपूर्ण रहेको उनको भनाइ छ। यसले एउटै केन्द्रमार्फत स्थानीय अर्थोडक्स चर्चहरूमा राजनीतिक प्रभाव पार्ने खतरा रहेको उनले बताए।
युक्रेनी अर्थोडक्स चर्चमाथि भइरहेको दबाब र भेदभावको चर्चा गर्दै प्याट्रियार्क किरिलले भने, ‘यो दबाब खुला धार्मिक उत्पीडनमा बदलिएको छ। यसको पछाडि धार्मिक मात्र नभई राजनीतिक कारक पनि छन्।’

उनले कप्टिक अर्थोडक्स चर्च, अर्मेनियाली अपोस्टोलिक पवित्र चर्च, मालानकारा अर्थोडक्स सिरियाली चर्च, इसाईथोपियाली अर्थोडक्स चर्च, एरिट्रियाली अर्थोडक्स चर्च र असीरियाली पूर्वी चर्चका प्रमुख तथा उच्च प्रतिनिधिहरूसँग द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सुसम्बन्ध रहेको बताए। रुसी अर्थोडक्स चर्चले गैर–इसाई धर्म, तथा अन्तर्राष्ट्रिय धार्मिक संघसंस्थासँग संवादलाई निरन्तरता दिइरहेको छ।
प्याट्रियार्क किरिलले मस्को प्याट्रियार्क र रुसी विदेश मन्त्रालयबीच वैदेशिक रुसी नागरिकप्रतिको सहकार्य उदाहरणीय रहेको पनि बताए। हाल १०५ देशमा रहेका मस्को प्याट्रियार्कका धार्मिक मिसनहरूबाट उनीहरूलाई आध्यात्मिक सहायता उपलब्ध भइरहेको छ। रुसी दूतावासहरूले पूजा सेवाका लागि आफ्ना भवनहरू उपलब्ध गराउने गरेको उनले बताए।
(स्रोत : रुसी विदेश मन्त्रालय)





