१३ बैशाख २०८३, आईतवार

सांसद पोखरेलले प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

ओखलढुङ्गा — नेपाल शिक्षक महासङ्घले ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा सांसद पोखरेलले २०८३ वैशाख १० गते चण्डेश्वरी माध्यमिक विद्यालय, खिजिदेम्बा–२ का प्रधानाध्यापक सन्तबहादुर मगरमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरेको उल्लेख गरिएको छ।

महासङ्घले प्रत्येक पदाधिकारीको आफ्नै जिम्मेवारी र कार्यक्षेत्र हुने भन्दै त्यसलाई बेवास्ता गर्दै विद्यालय परिसरभित्र गरिएको व्यवहारले शैक्षिक क्षेत्रको गरिमा र स्वतन्त्रतामाथि गम्भीर चोट पुगेको जनाएको छ। यस्तो गतिविधिले जननिर्वाचित प्रतिनिधिप्रतिको विश्वाससमेत कमजोर बनाउने ठहर गरिएको छ।

घटनाको कडा शब्दमा निन्दा गर्दै महासङ्घले शिक्षा क्षेत्रको मर्यादा र स्वायत्तताको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन समेत सचेत गराइएको छ। महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा जारी विज्ञप्तिमा सरोकारवाला सबैलाई जिम्मेवार बन्न अपिल गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button